अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:२५ मा प्रकाशित

सरकारी स्वामित्वमा रहेको पन्ध्रसय वर्ष पुरानो ऐतिहासिक ग्रन्थहरूको जगेर्ना गर्दै आइरहेको केशर पुस्तकालय विद्युतीय प्रविधिमा रुपान्तरण हुने भउको छ । समयको माग र पाठकहरूको रुचिलाई ध्यानमा राखेर पुस्तकालयलाई प्रविधिमैत्री बनाउन लागिएको हो ।तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले छोरा केशर शम्शेरको नाममा सन् १९०७ मा स्थापना गरेको केशर पुस्तकालयमा अहिले विभिन्न भाषाका ५७ हजार पुस्तक छन् । ऐतिहासिक महत्व बोकेका यी पुस्तक ९५ प्रतिशत अङ्ग्रेजी माध्यमका छन् ।

पुस्तकालयमा भएका ५ प्रतिशत पुस्तक पुराना हस्तलिखित ग्रन्थ, विभिन्न दुर्लभ कृति हुन् । यीनै पुस्तक संरक्षण गर्न पुस्तकालयलाई हाल प्रविधिमैत्री बनाइँदैछ । स्थापनाकालको १ सय २० वर्ष भन्दा बढी समय पार गरिसकेको पुस्तकालयले १५ सय वर्ष पुरानो हस्तलिखित ग्रन्थ लगायतका विभिन्न प्राचीन दुर्लभ पुस्तकहरूको जगेर्ना गर्दै आइरहेको पुस्तकालयका प्रमुख दशरथ मिश्र बताउनुहुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयमा समेत नभएको पुस्तकसमेत केशर पुस्तकालयमा पढ्न पाइने प्रमुख मिश्रको दाबी छ । चार भिन्न स्थानमा सजाएर व्यवस्थित बनाइएका वर्षौं पुरानो ईतिहास बोकेको पुस्तकालय छिर्ने बित्तिकै पाठकको मन तानिन्छ । कुनै समय ओइरो लाग्ने गरे पनि अहिले भने पाठकको संख्या पातलिँदै गएको प्रमुख मिश्रको अनुभव छ ।

२०७२ सम्म पाठकहरू आउने गरेको भए पनि भूकम्पपछि पुस्तकालयमा आउनेको संख्या घटेको उहाँ बताउनुहुन्छ । अंग्रेजी माध्यमका पुस्तक बढी भएकाले नेपाली भन्दा घुम्न आइएका विदेशी पर्यटकहरू पुस्तकालयमा आउने गरेको उहाँको भनाइ छ । कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गर्दछन् ।

 

प्रतिक्रिया