अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

प्रधानमन्त्री देउवाद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण, पीडितको तत्काल व्यवस्थापन गर्न निर्देशन

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:१७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । त्यसक्रममा देउवाले विभिन्न जिल्लाका सुरक्षा निकायसँग छलफल गर्नुभयो । लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी सुदूरपश्चिम प्रदेशमा धनजनको ठूलो क्षति भएको छ । त्यसैको निरीक्षणका लागि देउवा सुदूरपश्चिम पुग्नुभएको हो ।

डोटीमा भएको क्षतिबारे जानकारी लिएर प्रधानमन्त्री देउवासहितको टोली बझाङ सदरमुकाम चैनपुर पुगेको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले क्षतिका बारेमा ब्रिफिङमा गरेका थिए । देउवाले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई उचित राहात र जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

ब्रिफिङका क्रममा देउवालाई जिल्लामा भएको क्षतिको प्राप्त सम्पूर्ण जानकारी गराएको र पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालनका लागि आग्रह गरेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग आएको निरीक्षण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहभागी हुनुहुन्थ्यो । डोटी, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि सो टोली डडेल्धुरा पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू