अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

नेपालमा थप ५ सय ४५ जनामा कोरोना पुष्टि, ७ सय २६ जना निको

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:०७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा पाँच सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार पाँच सय ४९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा परीक्षण भएका नमुनामध्ये ६ दशमलव ३७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार पाँच सय २२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार सात सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा सात सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार आठ सय ८१ पुगेको छ ।

यही अवधिमा आठ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा ११ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २३ हजार पाँच सय ६८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कम्तीमा पहिलो मात्रा खोप लगाउने मानिसको सङ्ख्या एक करोड ५० लाख ८१ हजार ६ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ६५ लाख चार सय ६३ जनाले पूर्ण मात्रा र ८५ लाख ८१ हजार एक सय ९५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू