अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

माओवादी केन्द्रमा ३३ केन्द्रीय विभाग गठन, महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:०२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको स्थायी कमिटीको आज बिहीवार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा एक सय ७५ सदस्यीय सम्पर्क समिति गठन गरेको बताउनुभयो ।

उहाँले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिनुभयो । त्यस्तै विभागबाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ । प्रवक्ता महराका अनुसार पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल रहनुभएको छ । उहाँले विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको र त्यसको संयोजकमा सूर्य सुवेदी रहने बताउनुभयो ।

अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमि सुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर हुनुहुन्छ ।

त्यस्तै जलस्रोत सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन न्याय तथा मानव अधिकार विभागमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा रहनुभएको छ ।

यस्तै प्रादेशिक मामिला विभागमा परशुराम तामाङ, पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा रहनुभएको छ ।

साथै वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह, विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानवस्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, सङ्गठन विभागमा जनार्दन शर्मा, सङ्घीय संसदीय विभागमा देव गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी रहनुभएको छ ।

यस्तै सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसङ्ख्या विभागमा कल्पना धमलाको संयोजकत्वमा विभाग गठन गरिएको प्रवक्ता महराले बताउनुभयो ।

प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने बताउनुभयो । उहाँले राष्ट्रिय महाधिवेशनमा पाँचदेखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू