अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 06:19

पद्यश्री साधना सम्मान आचार्य र साहित्य पुरस्कार दाहाललाई प्रदान

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:३९ मा प्रकाशित

पद्यश्री साधना सम्मान र पद्यश्री साहित्य पुरस्कार क्रमशः भजनशिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासका लेखक केशव दाहाललाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले २०६२ मा स्थापित यस पुरस्कार यात्राले १६ वर्ष पार गरेको सुनाउँदै शक्ति र सत्ता क्षणिक हुने र साहित्य कालजयी हुने बताउनुभयो ।

उहाँले गायक संगीतकार तथा गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई साधना सम्मान र सिंजा खस साम्राज्यमा भएको दासप्रथाबारे लेखिएको उपन्यास मोक्षभूमिलाई पद्यश्री साहित्य सम्मान अर्पण गर्न पाउँदा आफूहरू हर्षित भएको बताउनुभएको छ ।

ठूलो धनराशिका पुरस्कार छनोटको निर्णायक समितिमा को–को हुन्छन् र त्यसको मापदण्ड के हो भन्ने विषयमा प्रश्न उठ्दै आएको पृष्ठभूमिमा अध्यक्ष लामिछानेले आगामी वर्षका लागि पद्यश्री साहित्य पुरस्कार छनोट गर्ने निर्णयक समितिको नाम सार्वजनिक गर्नुभयो । उहाँका अनुसार साहित्यकार कुमारी लामा, नयनराज पाण्डे र समालोचक राम लोहनी समितिमा रहनुहुनेछ ।

अध्यक्ष लामिछानेले आगामी वर्षदेखि संस्थाले समाजसेवामा विशिष्ट योगदान पुर्याएका एक व्यक्तिलाई पद्यश्री सेवा सम्मान प्रदान गरिने पनि घोषणा गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू