अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

हिमपातका कारण मेरापिक क्षेत्रमा एक पर्यटक भरियाको मृत्यु, १० जना अलपत्र

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:३१ मा प्रकाशित

अत्याधिक हिमपातका कारण मेरापिक क्षेत्रमा एक जना पर्यटक भरियाको मृत्यु भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको मेरापिक क्षेत्रमा गएर फर्कने क्रममा महाकुलुङ गाउँपालिका ५ चाचालुङका २५ वर्षका जीवन कुलुङको आज ठाङ्नाङ भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक डीएसपी कवित कटवालका अनुसार आरोहण दलमा भरियाका रूपमा पिक पुगेर फर्कनुभएका उहाँको अत्यधिक हिमपातका कारण मृत्यु भएको हो ।

यसैबीच मौसम प्रतिकूलताका कारण मेरापिक क्षेत्रमा १० जना अलपत्र परेका छन् । हिजो मङ्गलवार पिक चढेर फर्किने क्रममा मौसम खराब हुँदा सात जना क्लाइम्बिङ शेर्पा, दुई जना विदेशी आरोही र अन्य एक जना गरी १० जना अलपत्र बनेका सोलुखुम्बु प्रहरीले जनाएको छ । आरोहण गरी फर्किने क्रममा मौसम प्रतिकूल हुँदा पाँच हजार सात सय मिटरको उचाइमा पर्ने मेराला ओडारमा चार जना, पाँच हजार आठ सय मिटरको उचाइमा पर्ने हाई क्याम्पमा चार जना र पाँच हजार तीन सय मिटरको उचाइमा पर्ने बेस क्याम्पमा दुई जना आरोही फसेको जनाइएको छ ।

उनीहरू सकुशल भएकाले यथाशीघ्र उद्धारको आवश्यकता रहेको सम्बन्धित ट्रेकिङ कम्पनी एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो । मौसम प्रतिकूलताका कारण तत्काललाई हेलिकप्टर समेत त्यो क्षेत्रमा जान सक्ने अवस्था नरहेकाले मौसम अनुकूल हुनासाथ उनीहरूको उद्धार गरिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू