अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

१२ दिनदेखि आसनरत् रुवी खानको अनशन तोडियो

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३३ मा प्रकाशित

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनशन बस्नुभएकी महिला अधिकारकर्मी रुवी खानले अनशन तोड्नुभएको छ । पीडितको न्यायका लागि भन्दै १२ दिनयता अनशनरत महिला अधिकारकर्मी रुवी खानले सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनशन तोड्नुभएको हो ।

सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहनुभएको छ ।

खानलाई मानव अधिकार आयोगकी पूर्व–सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनशन तोडाउनुभएको हो । अनशन तोडेपछि उहाँले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताउनुभयो ।

न्यायका लागि रुवी खान लगायतको टोलीले आमरण अनशन बसेको १२ दिनमा अनशन तोडेको हो । आयोगले अपराधीलाई कानुन बमोजिमको सजाय दिलाउने विश्वास दिएपछि खानले आमरण अनशन तोड्नुभएको हो । उहाँले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको मागसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू