अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन

बिआरटीनेपाल २०७८ असोज २७ गते ५:३७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाष्टमीको दिन आज बुधवार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएकाे छ ।  पाँचखाल नगरपालिका–९ पलाञ्चोकमा रहेकाे भगवती मन्दिरमा उहाँले आज बिहान पूजाअर्चना गर्नुभएको हो । उहाँ बिहान १०ः३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक हो । गएकाे वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो ।

राष्ट्र प्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगरपालिकाका मेयर भीम न्यौपाने, धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जू, बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगरपालिकाकी उपमेयर लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

हेलिकप्टरमार्फत पाँचखालमा रहेकाे नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ झन्डै पाँच किलोमिटर दुरीमा रहेकाे मन्दिरसम्म पुर्‍याइएकाे थियो । झन्डै १७ सय वर्षअघि अर्थात् संवत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू