अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

च्याङ्ग्राको मूल्य दोब्बरले बढ्यो

बिआरटीनेपाल २०७८ असोज २७ गते ५:०६ मा प्रकाशित

दशैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्‍ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीमा रहेकाे नेपाल ट्रस्टकाे नाममा रहेको एक सय आठ रोपनी चौरमा दुई हजार पाँच सय च्याङ्‍ग्रा र झन्डै दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । गएकाे सोमवारदेखि खरिदका लागि ग्राहक आए पनि आज बुधवार बिहानैदेखि च्याङ्‍ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ ।

जिल्लाका मात्रै नभइ काठमाण्डाै र काभ्रेदेखिका बासिन्दा च्याङ्‍ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रति किलो जिउँदो च्याङ्‍ग्रा एक हजार दुई सय रुपैयाँमा बिक्री गरेका छन् । आजदेखि भने अझै एक सय रुपैयाँ मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् । यो मूल्य गएकाे वर्षको भन्दा दोब्बर मूल्य हो । यहाँका व्यापारीले गएकाे वर्ष जिउँदो च्याङ्‍ग्रा प्रति किलो सात सय ५० देखि आठ सय रुपैयाँसम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै एक हजार दुई सय रुपैयाँ राखेका छन् ।

रामेछापका च्याङ्‍ग्रा व्यापारी हिमलाल श्रेष्ठ गएकाे वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताउनुभयो । सल्लाघारी चौरमा च्याङ्‍ग्रा बिक्री गर्दै उहाँले भन्नुभयो, चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्‍ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्‍ग्रा प्रति गोटा ४० हजार रुपैयाँ तिर्न परेकाले यस वर्ष च्याङ्‍ग्रा महँगो भएको हो । च्याङ्‍ग्रा ल्याउँदा मासु जोखेर नभइ सानो–ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उहाँले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्‍ग्रा महँगो परेको उहाँको भनाइ छ ।

अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्‍ग्रा प्रति किलो १२ सय रुपैयाँसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै चाङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताउनुहुन्छ । उहाँले सानो च्याङ्‍ग्रा प्रति गोटा ३६ हजार र ठूलो च्याङ्‍ग्रा ४० हजार रुपैयाँमा व्यापारीले खरिद गरेर ल्याएको बताउनुहुन्छ । च्याङ्‍ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय रुपैयाँ छ । सल्लाघारीमा चाङ्ग्राको तयारी मासु दुई हजार ६ सय रुपैयाँमा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गएकाे वर्ष तयारी मासु एक हजार सात सय रुपैयाँमा बिक्री गरे पनि यस वर्ष किलोमै एक हजार एक सय रुपैयाँ बढी मूल्यमा बिक्री गर्नुपरेको बताउनुहुन्छ । भेडा बिक्री हुन छाडेपछि यस वर्ष व्यापारीले काठमाण्डाै उपत्यकामै झन्डै ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको उहाँले जानकारी दिनुभयो । भेडा पनि मुस्ताङमै प्रति गोटा ३५ हजार रुपैयाँ परेको भन्दै व्यापारीले यहाँ भने प्रति किलो एक हजार एक सय रुपैयाँ बिक्री मूल्य राखेको उहाँले जानकारी दिनुभयो ।

च्याङ्‍ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा २५ हजार रुपैयाँ कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई २५ हजार रुपैयाँ कर तिरेको व्यापारी खड्काले बताउनुभयो ।

भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ । च्याङ्‍ग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट २५ हजार रुपैयाँ भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, भक्तपुर नगरपालिकाले एउटा गोठको भाडा २५ हजार लिएको छ, यहाँ २० वटाभन्दा बढी गोठ छ, अस्थायी भए पनि शौचालय बनाइदिन आग्रह गर्दा उल्टै खाल्डो खनिदिएका छौँ त्यसमै गर भनेर गए, खुलामा शौचालय गर्नुपर्ने बाध्यता पो छ त ।

नगरपालिकाले व्यापारीलाई बत्तीसमेत नदिएको गुनासो गरेका छन् । शुल्क लिएपछि अस्थायी बिजुलीकाे व्यवस्थासमेत नगरेको भन्दै व्यापारीले कतिपय अँध्यारोमा टुकी बालेर बस्नुपरेको त कतिपयले इमरजेन्सी लाइट ल्याएर बालेर बस्नुपरेको गुनासो गरेका छन् । नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग १० हजार रुपैयाँका दरले भाडा लिएको छ । चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन् । मासु व्यापारी कुर्णबहादुर शाहीले नगरपालिकाले एउटा पसलबाट १० हजार रुपैयाँ भाडा लिएको बताउँदै शौचालय र बत्तीसमेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गर्नुहुन्छ ।

सल्लाघारीमा खसी प्रति किलो ६ सय ५७ देखि सात सय ५० रुपैयाँसम्ममा बिक्री भएको छ । खसी व्यापारी सिन्धुपाल्चोकका मङ्गल श्रेष्ठले खसीको जात र ठाउँअनुसार मूल्य फरक परेको बताउनुभयो । यहाँ २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको जनाउँदै सरकारले निर्धारण गरेको ६ सय ५० रुपैयाँमा सबै जातका खसी बिक्री गर्न नसकिएको बताउनुहुन्छ । भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ । त्यस्तै भेलुखेल, च्यामासिंहलगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेको छ । हनुमानघाट र कमेरोटारमा एक हजारभन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन् ।

रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट ल्याएको राँगा एउटाकाे २५ हजारदेखि ८५ हजार रुपैयाँसम्ममा बिक्री भएको व्यापारीले बताउँछन् ।  भक्तपुरका नेवार समुदायले दशैँमा फूलपातीका दिन विभिन्न टोलका गुठीबाट राँगो काट्ने र घर–घरमा मासु भित्र्याउने परम्परा रहेको छ भने नवमीसम्म नै विभिन्न गुठी समूहले टोलटोलमा राँगा बलि दिने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू