अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

”हाम्रो जस्तो देशमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन” – पूर्वराजा शाह

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:२४ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो देशमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताउनुभएको छ । पूर्वराजा शाहले विजया दशमीको अवसरमा देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई शान्ति र सुखका लागि शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तूल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौँ । प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश हामीले लिएका छौँ’, शाहले मंगलबार जारी गरेको सन्देशमा भनिएको छ ।

पूर्वराजाले सन्देशमा भ्रन्नुभएको छ, ‘अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सहि सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभुति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौँ ।’

पूर्वराजा शाहले मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीतिक र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’

सन्देशमा अघि भनिएको छ, ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ? कुनै पनि परिवर्तनको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्ने पर्ने भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ । सन्देशमा शाहले भन्नुभएको छ, ‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्दछ । दुर्भाग्यबस शिक्षा तथा स्वास्थ्यको व्यापारिकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासाको बादल छाएको छ ।’

‘त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनु पर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौति थपिएकोले हाम्रो मन पोलेको छ’, सन्देशमा पूर्वराजा शाहले भन्नुभएको छ । हरेक नागरिकलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकारी हुने उहाँले उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ , ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राज पद्धतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि ।’

देशभक्ति र राष्ट्र प्रतिको भावना मानिसमा दविद भए पनि नामेट हुन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ । शाहले भन्नुभएको छ, ‘योग्य समयमा समूचित तरिकाबाट त्यो प्रस्फुठित हुने गर्दछ । केही समय यता जिम्मेबार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकूल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्रिय अनूराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू