अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

बडादशैंको सातौं दिन टुँडिखेलमा फूलपाती बढाइँ

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:३० मा प्रकाशित

दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकोले राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत गरिएको थियो ।

बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो । कोरोना संक्रमण महामारीको कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने उपस्थितहरुलाई स्वास्थ्यका मापदण्ड पालना गराइएको थियो । पर्वका अवसरमा आज घरघरमा फुलपाती भित्राईएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू