अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थको लोकार्पण तथा समर्पण प्रज्ञाप्रतिष्ठानमा सम्पन्न

बिआरटीनेपाल २०७८ असोज २५ गते ८:२० मा प्रकाशित

काठमाडौँ । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा राष्ट्रिय अभिनन्दन मूल समारोह समिति २०७७ ले प्रकाशित गरेको ‘नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थ’को लोकार्पणसहित ग्रन्थ सम्पादन मण्डलका तर्फबाट प्रधान सम्पादक पवन आलोक र कार्यकारी सम्पादक विधान आचार्यबाट श्री शर्मालाई शनिवार काठमाडौँको प्रज्ञाप्रतिष्ठान हलमा समर्पण गरिएको छ ।

युवा साहित्यकार तथा समालोचक रञ्जना निरौलाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै वरिष्ठ साहित्यकार तथा लघुकथा समाजका अध्यक्ष एवं अभिनन्दन मूल कार्यसमिति सदस्य श्रीओम श्रेष्ठ ‘रोदन’ले “साहित्यिक पत्रकारको सम्मानमा यसरी आयोजना गरिएको राष्ट्रिय अभिनन्दन र ‘अभिनन्दन ग्रन्थ’ प्रकाशनसमेत नेपालमा सम्भवतः पहिलो हो” भन्नुभयो ।

अभिनन्दन ग्रन्थका कार्यकारी सम्पादक नेपाल स्रष्टा समाजका अध्यक्ष तथा अभिनन्दन मूल कार्यसमिति सदस्य विधान आचार्यले अभिनन्दन ग्रन्थको प्रकाशनबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । अभिनन्दन ग्रन्थ करिब साढे चार सय पृष्ठको छ र आठ पृष्ठको स्रष्टा अनुक्रमणिका (इन्डेक्सिङ) समेत समाविष्ट छ । प्राज्ञिक तथा अनुसन्धेय दृष्टिले यस्तो अनुक्रमणिका समाविष्ट ग्रन्थलाई ‘विशेष कृति’ मान्ने गरिन्छ । कुल नौ खण्डमा विभाजित ग्रन्थमा करिब एक सय स्रष्टाका रचना समेटिएका छन् ।

उक्त समारोहमा वरिष्ठ साहित्यिक पत्रकार तथा ‘रचना’ साहित्यिक द्वैमासिकका प्रधान–सम्पादक रोचक घिमिरे र वरिष्ठ साहित्यकार विनोद दीक्षितले नगेन्द्रराज शर्मासँग जोडिएका रमाइला संस्मरणहरू सुनाउनुभएको थियो । त्यसै गरी, वरिष्ठ समालोचक प्रा.डा. ज्ञानु पाण्डेले अभिनन्दन ग्रन्थबारे सङ्क्षिप्त समीक्षा गर्दै नगेन्द्रराज शर्माजस्ता राष्ट्रकै उदाहरणीय व्यक्तिहरूको अभिनन्दन कार्य साहित्यकारहरूका तर्फबाट हुनु निकै सराहनीय कार्य भएको र विशेष ‘अभिनन्दन ग्रन्थ’ नै प्रकाशित गरेर उहाँमा समर्पण गरिएकोमा खुसी व्यक्त गर्दै ग्रन्थ निकै महत्त्वपूर्ण र संग्रहणीय रहेको धारणासमेत राख्नुभयो ।

उक्त समारोहमा बोल्दै कार्यक्रमका मुख्य आकर्षण नगेन्द्रराज शर्माले भन्नुभयो, ‘म यति ठुलो सम्मान पाउन योग्य नभए पनि साहित्यकार मित्रहरूले मप्रति देखाउनुभएको यो सद्भावप्रति म हृदयतः कृतज्ञ छु र अभिनन्दन समितिलाई असीम धन्यवाद दिन्छु ।’

सभापतिको आसनबाट बोल्दै अभिनन्दन मूल समितिका अध्यक्ष वरिष्ठ साहित्यकार पवन आलोकले नगेन्द्रराज शर्माजस्तो शिखर व्यक्तित्वको सम्मान÷अभिनन्दन गर्न पाउनु हामी सबैका लागि खुसी र गर्वको कुरा भएको बताउनुभयो । साथै उहाँले अभिनन्दन कार्यक्रम सफल पार्नमा भूमिका खेल्ने कार्यसमितिका पदाधिकारीहरू, मूल समितिका सम्पूर्ण सदस्यहरू, ग्रन्थका लागि आफ्ना रचना उपलब्ध गराउने सम्पूर्ण स्रष्टाहरू, अभिनन्दनका लागि आर्थिक र अन्य स्रोत उपलब्ध गराउने संस्था तथा व्यक्तिहरू एवं ग्रन्थ सम्पादन मण्डलमा रही प्रशंसनीय कार्य गर्ने कार्यकारी सम्पादक विधान आचार्य र सम्पादकहरू गोविन्द गिरी प्रेरणा, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ ‘रोदन’ र रोशन थापा ‘नीरव’लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

स्मरणीय छ, श्री शर्मालाई गत २०७७ चैत २२ गते उहाँको ८४औँ जन्म दिवसका अवसरमा काठमाडौँमा भव्य राष्ट्रिय अभिनन्दन गरिएको थियो । “देशका विभिन्न स्थानबाट करिब चार दर्जन साहित्यिक संस्था र करिब ५०० व्यक्तिको स्वस्फूर्त सहभागिता रहेको राष्ट्रिय अभिनन्दन कार्यक्रम आफैँमा एक ऐतिहासिक कार्यक्रम थियो”, मूल समितिका सदस्य चेतनाथ कणेल ‘हरित’को भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू