अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

सुकुम्बासी समस्या समाधानका लागि कार्यदल गठन गर्न लुम्विनी प्रदेशका मुख्यमन्त्री केसीको निर्देशन

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५९ मा प्रकाशित

लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रुपन्देहीको मोतिपुरका वास्ताविक सुकुम्बासीको समस्या समाधान गर्नका लागि कार्यदल बनाउन निर्देशन दिनुभएको छ ।सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले सुकुम्बासी समस्या समाधान गर्नका लागि सुझाव कार्यदल गठन गर्न रुपन्देहीको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको हो । प्रदेश सरकारले मृतकका परिवारलाई जनही १ लाख राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीका प्रतिनिधि, नापी कार्यालय रुपन्देहीका प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीका प्रतिनिधि, भूमिहीनका प्रतिधिधि लगायतलाई समेट्न मुख्यमन्त्री केसीले प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिनुभएको हो ।

यसैगरी प्रदेश सरकारबाट मोतिपुर घटनाका मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी दिनुभएको छ । यसैगरी दुवै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि केसीको प्रतिवद्धता छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना संवेदनशील भएकाले आगामी दिनमा सतर्क हुन संवेदनशील बन्न सबैलाई आग्रह गर्नुभयो । बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको समेत सहभागिता थियो । उद्योगको जमिन सुकुम्बासीले हडप्न खोजेपछि आइतबार प्रहरीले बल प्रयोग गरेर हटाउन लागेको थियो । सोही विषयमा विवादपछि प्रहरीले चलाएको गोली लागेर चार जना सुकुम्बासीको मृत्यु भएको थियो भने कैयौं सुकुम्बासी र प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू