अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्छौं” – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:५७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने उहाँले बताउनुभयो ।

सोमबार निर्माणाधिन विमानस्थलको अवलोकनमा जानुभएका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराउनुभएको थियो । रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराउनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । बर्खामा उत्तरपट्टीबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उहाको भनाई थियो ।

आयोजना कार्यालय र प्रधानमन्त्री बीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिईएन । साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा आइतबार सेनाको हेलिकप्टरबाट पोखरा आउनुभएका प्रधानमन्त्री सोमबार पोखरा विमानस्थलबाट हेलिकप्टरमै निर्माणाधिन विमानस्थल जानुभएको थियो । विमानस्थल अवलोकनपछि उहाँ काठमाडौं फर्किनुभएको छ ।

यसैबीच, हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू