अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

धर्ना दिँदै गर्दा पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७८ असोज २४ गते ७:१७ मा प्रकाशित

धर्नाका क्रममा काठमाण्डौको माइतीघर मण्डलबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरको नाममा कारण देखाऊ आदेश जारी गर्दै खानलाई २४ घण्टाभित्र स–शरीर उपस्थित गराउन आदेश दिएको हो ।

बाँकेका दुई महिलाको हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बाँकेबाट २० दिन पैदल हिँडेर काठमाण्डौ आएका रुवीसहितका महिलाले माइतीघरमा धर्ना दिँदै आएका छन् । धर्नाका क्रममा अस्ति शुक्रवार बेलुकी प्रहरीले नेपालगञ्जकी रुवी खानलाई पक्राउ गरेको थियो ।

खानको अवस्थाबारे जानकारी नदिइएपछि अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि आफन्त र अधिकारकर्मीले आज पनि काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जबाट २० दिनसम्म हिँडेर काठमाण्डौ आइपुगेका १५ जना पीडित परिवारका सदस्य र काठमाण्डौमा रहेका अधिकारकर्मीले माइतीघरमा धर्ना दिएका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन् । नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै उनीहरू काठमाण्डौ आइपुगेका छन् । धर्नामा बसेकी आप्दा धोबीले काठमाण्डौ आएको पाँच दिनसम्म पनि सरकारले आफ्ना माग नसुनेको भन्दै माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू