अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

तपाई साकाहारी हुनुहुन्छ ? दशैंमा खानुस् यस्ता परिकार

बिआरटीनेपाल २०७८ असोज २३ गते २३:२९ मा प्रकाशित

नेपालीहरुको महान पर्व दशैं आइसकेको छ  । दशैंमा देवी भगवतीको पूजा गरि ठूलाबाट सानाले टिका थापेर आर्शिवाद लिने चलन छ । साथै मिठा परिकार खाने गरिन्छ ।

विशेष गरेर प्रायको घरमा खसी, बोका, कुखुरा, हाँस, सुँगुर, राँगा कुनै नु कुनै जनावरको बली दिने, माछामासु खाने र रमाइलो गर्ने गरिन्छ । माछामासु नखानेहरुलाई त दशैं आएर पनि के मतलब होला र है ? यस्ता प्रश्नहरु प्राय साकाहारीले सुन्नुपरेको हुन्छ । यसले के बुझाउँछ भने माछामासु नै दशैंको विशेषता हो भन्ने हाम्रो समाजको बुझाइ बन्न पुगेको छ ।

तर दशैं त हामी ठूलाबाट टिका थापेर र आर्शिवाद लिएर अनि आफूलाई मन पर्ने खानेकुरा खाएर खुसीसाथ मनाउन सकिन्छ । मासु मन पर्नेलाई मासुजति मिठो केही हुँदैन भन्ने लाग्ला तर मन नपर्नेलाई त मासुजति नमिठो पनि केही हुन्न भन्ने लाग्छ । त्यसैले आफूलाई मन पर्ने खानेकुरा खाएर दशैं मनाउन सकिन्छ ।

साकाहारी चार प्रकारका हुन्छन् :
१.माछामासु नखाने तर दूध तथा दूधका परिकार खानेलाई ल्याक्टो भेजिटेरियन

२.माछामासु नखाने अण्डा मात्र खानेलाई ओभा भेजिटेरियन

३.दूध र दूधका परिकार एवं अण्डा खानेलाई ल्याक्टो ओभा भेजिटेरियन

४.जनावरबाट प्राप्त केही पनि नखाने तथा वनस्पतिक स्रोत मात्र खाने भेगान

शरीरलाई आवश्यक पर्ने तत्वहरु प्राप्त हुनेगरी आफूले खाने गरेकै खानेकुरा खाएर साकाहारीले पनि दशैंलाई मांसाहारीले जसरी नै मनाउन सकिन्छ । अझ जनावरको अधिकारका लागि मासु नखानेहरुले त आफूले दशैं लगायत कहिल्यै पनि कुनै जीवलाई दुख नपुर्याएकोमा आत्मसन्तुष्टि प्राप्त हुने हुँदा उनीहरुको दशैं अझ विशेष र खुसी हुने देखिन्छ ।

दूधका परिकार खानेहरुले दशैंमा खिर, घिउ, पनिरलाई विशेष प्राथमिकता दिएर खान सकिन्छ । त्यसैगरी दूधबाट बनेका अन्य परिकार दहि, दूध, मिठाइहरु पनि खाएर दशैं मनाउन सकिन्छ ।

दूधका परिकार नखानेले विभिन्न जातका च्याउ खान सकिन्छ । माछामासु नखानेहरुले पनिर, च्याउ, घिउलाई प्राथमिकतामा राखेर खान सकिन्छ । त्यसैगरी अण्डा खानेहरुले अन्य तरकारीका साथै अण्डाका विभिन्न परिकार बनाएर खान सकिन्छ ।

सामान्य तरकारीहरुलाई पनि विभिन्न परिकार बनाएर विशेष गरी खान सकिन्छ । नियमित रुपमा खाने काउली, घिरौला, बन्दा, भन्टा, साग, मूलाका साथसाथै पनिर, च्याउका विभिन्न स्वादिलो परिकार बनाउन सकिन्छ । दशैंमा मटर पनिर, पालक पनिर, तोफु, मटर मसरुम पनिर, लगातयको तरकारी बनाउन सकिन्छ ।

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा हुने च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको छ जसको प्रयोग दशैंमा स्वास्थ्यका हिसाबले पनि हितकर हुन्छ ।शाकाहारीले दशैंको समयमा चना, केराउ, बोडीको तरकारीहरुको प्रयोग गर्न सकिन्छ । त्यस्तै आलुको अचार, काक्राको पुरानो अचारको प्रयोग पनि गर्न सकिन्छ ।

दशैंको अवसरमा शाकाहारीले प्रयोग गर्न सक्ने अन्य खानेकुरामा फलफूल र मिठाइ पनि हुन्छ । त्यसका लागि बजारमा किनिएका मिठाइ भन्दा घरमा नै बनाउन सकिने लालमन, रसवरी, जेरी, नरीवलको वर्फी, सेल, अनरसा लगायतका मिठाइको प्रयोग गरेर दशैंलाई स्वादीलो बनाउन सकिन्छ । त्यस्तै फलफुल, लस्सीको प्रयोग पनि दशैंमा गर्न सकिन्छ । दहीको प्रयोग दशैंमा धेरै हुने गरेको छ । दही, चिउरासँग आलूको अचार धेरै स्वादिलो हुन्छ ।

दशैंमा अन्य आफूलाई खान मन लाग्ने विभिन्न परिकार बनाउन सकिन्छ । हामी अन्य समयमा भन्दा दशैंको समयमा फुर्सद हुने हुँदा अरुबेला बनाएर खान नपाएका खानेकुराहरु यस बेला मजाले बनाएर खान सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू