अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

नेपाल चलचित्र कलाकार सङ्घको १८ औँ साधारण सभा भव्यताको साथ सम्पन्न

बिआरटीनेपाल २०७८ असोज १६ गते २०:०९ मा प्रकाशित

काठमाडौँ– नेपाल चलचित्र कलाकार सङ्घको १८ औँ साधारण सभा शनिवार काठमाडौँमा सम्पन्न भएको छ । समारोहमा सङ्घका अध्यक्ष एवं समारोहका सभापति रवीन्द्र खड्काले आफ्ना भनाइहरू राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले समारोहलाई सम्बोधन गर्दै दसैँअघि नै नेपालभरका सिनेमा हलहरू खुल्ने जानकारी गराउँदै बोर्डले गरेका अन्य महत्त्वपूर्ण कामहरूको बारेका जानकारी गराएका थिए । अध्यक्ष दाहालले मरणोप्रान्त विशिष्ट श्रेणीका कलाकारहरूलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरूको लागि स्वास्थ्य बिमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वयमा आयोजित कार्यशालाहरूमा सहभागी गराउने, क्षेत्रीय स्तरमा चलचित्र महोत्सवहरूको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरूको पहल भइरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।

समारोहमा वसुन्धरा भुसालले कलाकार सङ्घले आयोजना गरेका कार्यक्रम तथा चलचित्रकर्मीहरूको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरूप्रति असन्तुष्टि व्यक्त गरिन् । कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरू अनुपस्थित रहेकोप्रति आक्रोश व्यक्त गर्दै आफूलाई समस्या पर्दा सङ्घ चाहिने तर यत्रो साधारण सभामा नआउने भन्दै उनीहरू यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई सङ्घले पनि वास्ता गर्न नहुने विचार व्यक्त गरे ।

समारोहमा कृष्ण मल्लले भने मन गढन्ते उपाधि लिने र दिनेहरूप्रति असन्तुष्टि व्यक्त गर्दै इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला महानायक र महानायिकाको आत्मरतिमा रमाई रहेको तथा यदि तपाईँहरू महान् हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न, तपाईँहरू महान् होइन, दर्शक महान् हुन् भन्ने धारणा व्यक्त गरेका थिए । समारोहमा लय सङ्ग्रौला, कृष्ण मल्ल लगायतका वक्ताहरूले सङ्घको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरूको खुलेर प्रशंसा गरेका थिए । सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कार्यक्रम सञ्चालन गर्ने क्रममा कोभिड १९ का कारण यो कार्यक्रम समयमै आयोजना गर्न नसकिएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया