अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

अनेसास कविता महोत्सवमा शरद पोखरेल प्रथम

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:३१ मा प्रकाशित

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्म जयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसास कविता प्रतियोगितामा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै पोखरेको ‘एउटा चराको सूसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो ।
यसै गरी नेपालका कवि शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई- दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन् भने डा. गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको बारेमा मन्तव्य राखेका थिए ।
अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा.डा. सावित्री मल्ल कक्षपती, डा. राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा गठित
महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारङ्ग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता चयन गरेको थियो ।

पुरस्कृत कविहरूलाई छिट्टै एउटा कार्यक्रमको आयोजना गरी पुरस्कार समर्पण गरिने आयोजक समितिले जनाएको छ । अनेसासले राष्ट्रकवि माधव घिमिरेको जन्म जयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कविता महोत्सवको यो पहिलो संस्करण हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू