अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

सार्वजनिक ओहोदामा बस्नेले आलोचक पाल्नुपर्छ : पूर्व सेनापति कटवाल

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:१४ मा प्रकाशित

ड्यालस (अमेरिका) । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले आफ्नो आलोचना गर्ने व्यक्ति पालेमा मात्र सफल हुन मद्दत मिल्ने अनुभव सुनाएका छन् ।

शनिवार टेक्ससको ड्यालसमा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा कटवालले बाहिरको प्रतिक्रिया बुझ्न आफूबाट गरेका सही एवं गलत कार्यहरूका बारेमा यथार्थ जानकारी लिनका लागि आलोचकहरू तयार पारेर उनीहरूको कुरा आफूले सुनेका अनुभव प्रस्तुत गरे ।

‘पदमा हुँदा चाकडी गर्नका लागि आफ्ना बारेमा राम्रा कुरा मात्र सुनाउने जमातहरू हुन्छन् । तर तिनका कुराभन्दा आलोचकका कुरा सुनेमा आफूबाट कामको दौरानमा भए गरेका गल्ती कमजोरी सुधार्न सहयोग पुग्छ’, कटवालले भने ।

प्रधान सेनापति पदमा बहाल हुँदा बाहिरका आलोचनाहरू, प्रतिक्रियाहरू बुझ्नका लागि एक जना वरिष्ठ सैनिक अधिकारीलाई जिम्मा नै दिएको प्रसङ्गसमेत उनले जोडे । राजा अकबरदेखि लिएर महेन्द्रसम्मले आलोचकहरू तयार पारेर सफल भएको सन्दर्भ प्रस्तुत गर्दै खराब नियत भएको आलोचक होइन, असल नियत भएको र नडराई यथार्थ कुरा भन्न सक्ने आलोचकहरू तयार पार्नुपर्ने बताए ।

पृथ्वीनारायण शाहका कारण अहिलेको नेपाल देश भन्न पाइएको उल्लेख गर्दै कटवालले इतिहास मेट्न नहुने धारणा राखे । संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटेका छैनन् । भारतदेखि बेलायत, अमेरिका कुनै पनि देशले आफ्नो इतिहास नमेटेको र नेपालले पनि पृथ्वीनारायण शाहको इतिहास मेट्न नहुने उल्लेख गरे ।

आफ्नो सक्रियतालाई अनुमान गरेर विभिन्न व्यक्तिहरूले राजनीतिक दल खोल्न लागेको अनुमान गरे पनि आफू त्यसतर्फ नलागेको उनले बताए । ‘मैले बोल्न पाएकै छु, हिँडडुल गर्न पाएकै छु । किन दल खोल्नुपर्‍यो ?’, उनले प्रश्न गरे ।

अमेरिका भ्रमणमा रहेका कटवाल शुक्रवार र शनिवार ड्यालसका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा व्यस्त थिए । पदावधिको केही महिना मात्र बाँकी हुँदा २०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हठात निर्णय गरेर प्रधान सेनापतिबाट हटाउने निर्णय गरेपछि कटवाल त्यसयता निकै चर्चित छन् । कटवाललाई हटाउने निर्णयका कारण तत्कालीन माओवादी नेतृत्वको सरकार गिरेको थियो ।

२०६६ सालमा अवकाश पाएका कटवाल त्यसयता सामाजिक क्रियाकलापमा सक्रिय छन् । कार्यक्रम नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व र महासचिव सुरज भण्डारीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू