अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

माओवादी केन्द्रले सरकार विस्तारमा सहजीकरण गर्ने

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:०५ मा प्रकाशित

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा देखिएको कानुनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सोमवार बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई चाँडो समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा सरकार विस्तारका लागि कानुनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो ।

स्थायी कमिटीको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराउनुभएको थियो भने स्थायी कमिटी सदस्यको राय पनि लिनुभएको थियो । यस्तै बैठकमा पार्टीको आउँदो राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो ।

नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ । यस्तै टोल भेला आउँदो कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आउँदो मङ्सिर ४ गते पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आउँदो पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू