अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

एमालेको केन्द्रीय कमिटी बैठकमा टोली नेताले प्रतिवेदनमाथि सुझाव पेस गर्दै

बिआरटीनेपाल २०७८ असोज ९ गते ७:०० मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली नेताले सुझाव प्रस्तुत गरिरहेका छन् ।ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा चलिरहेको बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले हिजोको बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल गरेका छन् । छलफलपछि टोली नेताले दिएको सुझावका आधारमा प्रतिवेदनलाई आज पारित गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो । पारित प्रतिवेदन यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । केहि विषयमा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने र अध्यक्ष ओलीको जवाफसहित प्रस्तावहरु पारित गरेपछि बैठक सकिने पार्टी कार्यालयका सचिव तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू