अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

सरकारले सर्तसहित अनअराइभल भिसा खोलायो, अब पर्यटक आउन सहज हुने

बिआरटीनेपाल २०७८ असोज ७ गते ८:०५ मा प्रकाशित

सरकारले पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको हो । सर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने छ । यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ ।

यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ । अब सबै विदेशी नागरिकको अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण हुने भएको छ । यसरी गरिने परीक्षणमा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा बस्नुपर्ने लगायतको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया