अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

नयाँ नोट बजारमा, नोटको सुरक्षालाई लिएर राष्ट्र बैंकको चिन्ता

बिआरटीनेपाल २०७८ असोज ६ गते २०:२५ मा प्रकाशित

यस वर्षको दशैं नजिकिएसँगै नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट बजारमा ल्याएको छ । त्योसँगै नयाँ नोटसहितको फोटो अहिले सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती हेर्न पाइन्छ । प्रत्येक वर्ष राष्ट्र बैंकले दशैंका लागि नै भनेर अर्बौको नयाँ नोट निष्कासन गर्ने गर्दै आएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट निष्कासन गरेको छ । एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म सटही गर्न पाउने व्यवस्था गरिएको छ ।

नयाँ नोट बजारमा ल्याएसँगै नोटको सुरक्षाको विषयलाई लिएर राष्ट्र बैंकलाई चिन्ता समेत बढेको छ । नोटको हिफाजत गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा नहुँदा नोट छिट्टै झुत्रो हुने समस्याबाट केन्द्रीय बैंक चिन्तित हुँदै आएको छ । अझ चाडपर्वमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुने भएकोले नोटको हिफाजत गर्न राष्ट्र बैंकले अपील गरेको छ ।

पुराना भएका नोट राष्ट्र बैंकले जम्मा गरी काम नलाग्ने नोटलाई नष्ट गर्ने र त्यसको साटोमा नयाँ नोट छपाइ गर्नुपर्ने हुन्छ । नोटको सुरक्षा नहुँदा राष्ट्रलाई ठूलो घाटा पर्छ । त्यसैले, राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी हुनबाट जोगाउनका लागि समेत नोटको सुरक्षा गर्नु आम नागरिकको पनि कर्तव्य हो । पुजाआजामा प्रयोग हुने नोटको सुरक्षामा ध्यान नदिँदा नोटको आयु कम हुन्छ । यसो हुँदा आयुभन्दा अगावै नष्ट गर्नुपर्ने बाध्यता राष्ट्र बैंकलाई छ ।

अहिले १ सयदरका नयाँ नोट छपाउँदा २ रुपैयाँ ९९ पैसा खर्च हुने राष्ट्र बैंकले जनाएको छ । नोटलाई होसियारीपूर्वक चलाए यसको आयु ५ वर्षसम्म हुने र वार्षिक अर्बौ रुपैयाँ नोट छपाइका लागि विदेशिनबाट रोकिन्छ ।हाल धेरै चलनचलतीमा आउने नोटहरुमा ५, १०, ५०, १००, ५०० र १००० दरका नोटहरु हुन । ५ देखि १०० दरका नोटहरु छपाउँदा २ रुपैयाँ ९९ पैसासम्म र ५ सयदेखि १ हजार दरको नोट छपाउँदा ३ रुपैयाँभन्दा बढी खर्च हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नोटको सुरक्षा गर्न राष्ट्र बैंकले बैंक तथा वित्त संस्थाहरु र सर्वसाधारणलाई यस वर्ष पनि सूचना जारी गरेको छ । नोट फोहोर बनाउने, केरमेट गर्ने, रंग लगाउने र स्टिच लगाउनेलाई ३ महिना जेल र ५ हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सरकार तथा नियमक निकायले नीति नियम बनाए पनि प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा नोटको हिफाजत नभएको सरोकारवालाहरुको भनाइ छ ।

विशेष गरी नोटमा रंग लगाउने, चिसो हातले छुने, तोडमोड बढी हुने, पानीमा भिज्ने, केरमेट हुने र बच्चाहरुलाई नोट जथाभावी खेलाउन दिँदा नोटहरु ब्रिगने गर्दछन् ।  नोट राष्ट्रको पहिचान समेत भएकोले यसको सुरक्षा गर्नु सबै नागरिक कर्तव्य भएको राष्ट्र बैंकको भनाइ छ ।  नेपाली नोट नेपालको प्रतिष्ठा पनि हो । राष्ट्रको चिनारी र गहनाको रुपमा रहेको नोटको सुरक्षणमा नीति निर्माण गर्ने निकायहरु नै संवेदनशील नभएको भन्दै आलोचना पनि हुने गरेको छ । त्यसैले नोटको सुरक्षणमा राष्ट्र बैंक र सर्वसाधारण दुवै संवेदनशील हुनुपर्ने सरोकारवाला बताउछन् ।

प्रतिक्रिया