अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

देशभित्र न्याय पाउने आशा मर्‍यो, अन्तर्राष्ट्रिय जगतले न्याय दिलाउन सघाओस्–गंगामाया अधिकारी

बिआरटीनेपाल २०७८ असोज ६ गते ७:०८ मा प्रकाशित

सत्याग्रही गंगामाया अधिकारीले देशभित्र आफूले न्याय पाउने आशा मारेको भन्दै अन्तर्राष्ट्रिय जगतले न्यायको मुद्दालाई सघाइदिओस् भन्ने अपील गर्नुभएको छ ।माओवादीले हत्या गरेको १७ वर्षीय छोरा कृष्णप्रसादको न्यायका लागि सरकारको नियन्त्रणमै रहेर आमरण अनशन बसेका बेला मृत्युभएका पति नन्दप्रसाद अधिकारीको सातौं वार्षिकी कार्यक्रममा सत्याग्रही अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय जगतलाई गुहार्नुभएको हो ।

लामो समयदेखि अनशनरत स्थल वीर अस्पताल अगाडि गरिएको कार्यक्रममा गंगामायाले सरकारदेखि न्यायालयसम्मको मिलिभगतमा आफ्ना छोराका हत्यारालाई उन्मुक्ति दिने काम भएकाले अब एक मात्रै आशा अन्तर्राष्ट्रिय जगतसँग रहेको उल्लेख गर्नुभयो ।

मुद्दाको अन्तर्राष्ट्रियकरण गर्नका लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिसमक्ष निवेदन दिएको जानकारी दिँदै गंगामायाले भन्नुभयो, ‘यत्तिका वर्षसम्म न्यायका लागि लडिरहेको अनि बदलामा सरकारी पक्षबाट झूठा आश्वासन तथा ढिलासुस्ती मात्र पाइरहेको अवस्थामा मैले आफूमाथिको यो अन्यायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्णय लिएकी हुँ ।’

१७ वर्षअघि २०६१ जेठ २४ गते चितवनको रत्ननगरमा रहेको बकुलहर चोकमा अधिकारी दम्पत्तिका १७ वर्षे छोरा कृष्णप्रसादको माओवादीले निर्ममतापूर्वक हत्या गरेको थियो । छोराका हत्यारालाई कार्वाही गरी न्याय दिलाउन आमरण अनशनमा रहँदा २०७१ असोज ६ गते ३३४औं दिन गंगामायाका पति सत्याग्रही नन्दप्रसाद अधिकारीको वीर अस्पतालको शैयामा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू