अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

नेपालमा १ हजार ४ सय ७८ कोरोना सङ्क्रमित थपिए, २४ घण्टामा १ लाख ५६ हजारभन्दा धेरै जनालाई खोप लगाइयो

बिआरटीनेपाल २०७८ असोज ६ गते ६:४२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १० दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७७ हजार चार सय ३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या सात लाख ५५ हजार ६ सय ३० पुगेको छ ।यही अवधिमा थप ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ । अहिले नेपालमा २१ हजार एक सय ३९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३४ जनाको आईसीयू र एक सय १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ५६ हजार १८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा ५७ लाख ५२ हजार आठ सय ५३ जनाले पूर्ण मात्रा र ६२ लाख ६२ हजार सात सय ८० जनाले एक मात्रा खोप लगाएका छन् ।  सरकारले दशैँअघि ३३ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउने लक्ष्य लिएकोमा काठमाण्डौ उपत्यकामा लक्ष्य पूरा भइसकेको हो । वाग्मती प्रदेशमा २९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू