अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

‘नेपालकाे हितविरुद्ध कुनै सम्झाैता हुँदैन, सबै देशसँग सन्तुलित सम्बन्ध कायम हुन्छ’-परराष्ट्र मन्त्री डा. खड्का

बिआरटीनेपाल २०७८ असोज ६ गते ६:३१ मा प्रकाशित

नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज बुधवार दिउँसाे पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी देश चीन र भारतसहित विश्वका सबै देशसँग सुमधुर एवम् सन्तुलित सम्बन्ध कायम गरिने बताउनुभयो ।

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवम् सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गर्नुभयो ।  उहाँले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता ‘मिलिनियम कर्पोरेशन च्यालेन्ज (एमसीसी)’ र हिन्द–प्रशान्त रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने स्पष्ट गर्नुभयो ।

विभिन्न देशमा राजदूतको नियुक्ति नभएको र भएका देशबाट पनि फिर्ता बोलाइएको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा सम्बन्धित देशको संस्कृति, संस्कार, अन्तर्राष्ट्रिय भाषा र कुटनीतिको ज्ञान भएका योग्य व्यक्तिलाई नियुक्ति गरिने बताउनुभयो ।

मन्त्री खड्काले आजै बेलुका संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्ने र त्यहाँ रहँदा विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जानकारी दिनुभयो । साथै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका विदेश मन्त्रीहरूसँग छलफल गर्ने जानकारी दिँदै यस्ता भेटघाट देशका हित प्रवर्द्धनका साथै कुटनीतक सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू