अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

ओली सरकारले राजनीतिक नियुक्ति दिएर पठाएका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२३ मा प्रकाशित

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

आजको बैठकले यसअघि केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएर पठाएका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।

यस्तै मन्त्रिपरिषद्ले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृती प्रदान गर्ने, कोभिड–१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटर सडक खण्डको ट्र्याक निर्माण काम नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू