अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

पोखरामा पाँच महिनादेखि बन्द रहेकाे प्याराग्लाइडिङ उडानकाे तयारी

बिआरटीनेपाल २०७८ असोज ४ गते २२:३२ मा प्रकाशित

कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभएकाे हाे ।’लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौँ, अब यसै हप्ता उडान हुनेछ”, उहाँले भन्नुभयो । उहाँले सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले अब एक दुई दिनभित्रै व्यावसायिक उडान गरिने जानकारी दिनुभयो ।

संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी दिनुभयो ।

साहसिक खेलका रुपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान शुरु भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी रहेका छन् भने ३५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने करिब १५ जना रहेका छन् ।

झण्डै एक अर्बको लगानी यस क्षेत्रमा छ भने एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छुट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू