अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

नेवा: गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान

बिआरटीनेपाल २०७८ असोज ४ गते १२:१६ मा प्रकाशित

न्यु योर्क । नेवा: गुठी न्यूयोर्कको आठौँ महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौँ महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन भएको हो । निर्वाचन अघि सहमतिको प्रयास गरिए पनि अन्ततः निर्वाचनबाटै नेतृत्व चयन गरिएको निर्वाचन प्रमुख एवं गुठीका संस्थापक समीर महर्जनले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिमा राजेन्द्र महर्जन वरिष्ठ उपाध्यक्ष, राजन कर्माचार्य उपाध्यक्ष र सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा रामकृष्ण महर्जन तथा कोषाध्यक्षमा हृदय तुलाधर चयन हुनुभएको छ ।

महाधिवेशनले सदस्यहरूमा मीन लाल नविन प्रकाश तुलाधर, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सजना महर्जन, कविना श्रेष्ठ, सरिता श्रेष्ठ र वीरेन्द्र मानन्धरलाई चयन गरेको छ ।

गुठीको नेतृत्वका लागि विजयमान सिंह र सुवर्ण शाक्यबिच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा गुठीका निवर्तमान अध्यक्ष निर्मल प्रधानले कोरोना महामारीका बिचमा पनि गुठीले संस्थाको हितका लागि विभिन्न क्रियाकलाप गरेको जानकारी दिनुभयो । उहाँले संस्थालाई थप सशक्त बनाउँदै भाषा, संस्कृति र परम्परा संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष सिंहले गुठीलाई सहमतिकै आधारमा अघि बढाउने भन्दै सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले संस्थाको हितका लागि आफूले सक्दो प्रयास गर्ने भन्दै भाषा, संस्कृति र परम्पराको रक्षाका साथै न्यूयोर्कमा नेवा: गुठीको उपस्थितिलाई अझै थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक एवं गुठीका संस्थापक समीर महर्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहमतिका साथ अघि बढ्न शुभकामना दिनुभयो । उहाँले नेवा: गुठीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउनु सकारात्मक पक्ष भएको भन्दै चुनावलाई हारजितको रूपमा नलिन आग्रह गर्नु भयो । उहाँले लोकतान्त्रिक विधिले संस्थालाई थप मजबुत बनाउने भन्दै सबैले गुठीको हितमा काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा गुठीका अधिकांश सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेवा: गुठी न्यु योर्क सन् २००७ मा स्थापना भएको सामाजिक संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्धन गर्दै आइरहेको छ ।

यो संस्थाले अमेरिकाका विभिन्न स्थानमा रहेका नेवा: समुदायका मानिसहरूलाई एकै परिवारको छातामुनि एकीकृत गरी नेवा: संस्कृति तथा परम्पराको प्रवर्धन गर्ने गरेको छ । त्यस्तै नेवारी सांस्कृतिक सम्पदा, धर्मको संरक्षण गर्ने तथा नेवा: समुदायमा सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गर्ने तथा नेवा: समुदायभित्रका मनिसहरुबीच राम्रो सम्बन्धको विकास गरी सहकार्य बढाउने कार्य पनि गर्दै आएको छ । समुदायका सदस्यहरू जहाँ भए पनि परेको बेलामा सहयोग गर्ने सांस्कृतिक तथा परम्परालाई जोगाउने कार्यक्रम तथा आर्थिक सामाजिक स्तर उकास्ने किसिमका कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

त्यस्तै संस्थाले हरेक वर्ष विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । जस्तै: म्ह:पूजा, वनभोज कार्यक्रम, कयेटा पर्व, इही समारोह आदी रहेका छन् । यसले नेपाल सम्वतको अवसरमा न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यस्तै यसले अमेरिका र नेपालमा विभिन्न क्षेत्रमा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग एवं विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू