अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:५२ मा प्रकाशित

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापनबमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । काठमाडौंस्थित लोकसेवा आयोगको कार्यालय अगाडि सोमबार ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशनको माग राख्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगित गरिएको सूचना निकालिनु अन्याय भएको बताएका छन्। उनीहरुले लोकसेवाको आस्था र भरोसालाई बचाइराख्न तत्काल नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनकारी परीक्षार्थीहरुले लोकसेवा आयोगको यो कदमले देशमा कोप्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताएका छन् ।

प्रदर्शनमा सहभागी परीक्षार्थीहरुले लोकसेवाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको आरोप लगाएका छन् । सबै परीक्षा सकिसकेपछि पनि नियम, कानुन र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेकोमा उनीहरुको आक्रोश थियो । प्रदर्शनकारी परीक्षर्थीहरुले आयोगको यस निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेसनको शिकार भइरहेको र लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापनबमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको धारणा राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू