नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज सोमवार पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताउनुभएको हो । उहाँले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।
आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह गर्नुभयो । अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसन्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्नसमेत गर्नुभयो । पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनुपरेको उहाको प्रश्न थियो ।
अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गर्नुभयो ।