अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

विश्व बैंकबाट नेपाललाई थप सहयोग चाहिन्छ – अर्थ मन्त्री शर्मा

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:४३ मा प्रकाशित

अर्थ मन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । आज सोमवार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदैै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराइ आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ’ उहाँले भन्नुभयो ।

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र ‘रोड कनेक्टिभिटी’ को माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो ।

भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो । भेटमा सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको थियो ।

प्रतिक्रिया