अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

संखुवासभा हत्याकाण्डमा थप चार जना पक्राउ, दुई परिवारका पाँच जना मिलेर हत्या गरेको स्वीकार

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:४० मा प्रकाशित

संखुवासभा जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न थप चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । खाँदबारीमा पत्रकार सम्मेलनमा हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, निजका छोरा २८ वर्षीय हस्तबहादुर, यसअघि पक्राउ परेका लोकबहादुरका बुवा ४९ वर्षीय रणबहादुर र उनका १७ वर्षीय भाइ नरेशलाई पकाउ गरेको हो ।

अभियुक्त रणबहादुर कार्कीको घरमा अघिल्लो दिन हत्या योजना बनाएर भोलिपल्ट बिहान तेजबहादुर कार्की लगायत परिवारका ६ जनाको सामुहिक हत्या गरेको उनीहरूले स्वीकार गरेका छन् । पक्राउ परेका दुई घरका अभियुक्तले आफू र आफनो परिवारलाई होच्याउने, अपशब्द बोल्ने, हेप्ने सधैं गाली गलौज गर्ने गरेकाले हत्या गरेको बयान दिएको संघीय प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरिक्षक भीम दाहालले बताउनुभयो ।

यसअघि प्रहरीले अभियुक्त रणबहादुरका २५ वर्षीय जेठा छोरा लोकबहादुर कार्कीलाई भाद्र २७ गते हत्या आरोपमा सार्वजनिक गरेको थियो । अभियूक्त लोकबहादुरले आफू एक जनाले सबैको हत्या गरेको स्वीकारे पनि घटनाको प्रकृति अध्ययन र लोकबहादुरको बयानका आधारमा प्रहरीले थप व्यक्तिको संलग्नताको आशंकामा अनुसन्धान जारी राखेको थियो ।

घटनामा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षिय पार्वती, ५८ वर्षीय छोरा तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रन्जना, ८ वर्षीय पनाति दिपेन र ५ वर्षीया पनातिनी गोमाको विभत्स हत्या भएको थियो । भदौ २१ गते बिहान उनीहरूको शव घरदेखि केही परको बाटो, खोल्सा र खरबारीमा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू