अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

संबिधान दिवस मनाइयो, “सरकार संविधानको पूर्ण कार्यान्वयनमा प्रतिवद्ध” – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ असोज ३ गते ७:५३ मा प्रकाशित

सातौं सविधान दिवस आज मनाइएको छ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख लगाएत उपस्थित हुनुभयो । विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वय गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संवाद, सहमति र सहकार्य विकास गर्दै राष्ट्रिय हितका पक्षमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने पनि बताउनुभयो । समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ, प्रधानमन्त्री देउवाले भन्नुभयो । संविधान जारी भएको दिन नेपालीको विशिष्ट पर्व भएको पनि प्रधानमन्त्रीको भनाइ छ । चैत भित्र सबै नेपालीलाई निः शुल्क रूपमा कोरोना खोप लगाइने उहाँको भनाइ थियो ।

संविधानको रक्षा र कार्यान्वयनमा प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । संविधानको सफल कार्यान्वयनबाट समृद्धि कायम गर्नु साझा संकल्प रहेको प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए ।

नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर बोकेको थियो भने पुष्पवृष्टि पनि गरेको थियो । २०७२ असोज ३ गते संविधान सभाले नेपालको संविधान जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू