अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

नेपाली चलचित्र ‘टुल्की’ को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०७८ भदौ ३० गते ८:१२ मा प्रकाशित

काठमाडौँ । बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेली काँडा लगायतका विकट गाउँ बस्तीमा पुगेर छायाङ्कन गरिएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए ।

काठमाडौँ बानेस्वरमा रहेको वन सिनेमाजमा एक कार्यक्रमका बिच चलचित्रको टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न अतिथिका साथै थुप्रै सञ्चारकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झन्डै चार वर्ष अनुसन्धान नै गरेँ,’ निर्माता लामाले भने । ‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ,’ लामाले थपे । चलचित्रमा आर. पी. कर्माचार्य र शेखर लामाको लगानी रहेको छ। चलचित्रलाई विभिन्न फेस्टिभलमा सहभागी गराए पश्चात् मात्र सिनेमा घरमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथा वस्तुलाई उजागर गरिएको लामाको भनाइ छ ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।चलचित्रको छायाङ्कन र निर्देशन देवजंग थापाले गरेका हुन् । चलचित्रमा सङ्गीत सञ्जीव लिम्बुको रहेको छ। तारा थापा कुम्भेको सम्पादन रहेको चलचित्रमा मिक्सिङ्ग दीप तुलाधरले गरेका छन्।

चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया