अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

सरकारको खर्च केही दिन रोकिन सक्छ – अर्थ मन्त्री शर्मा

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:२७ मा प्रकाशित

विनियोजन विधेयक २०७८ पारित नभएपछि सरकारले राज्य कोषबाट भोलि बुधवारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थ मन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिनुभयो ।नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’ का रूपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । त्यस आधारमा भोलि बुधवारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको छ । आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ । अर्थ मन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आउँदो असोज ४ गतेका लागि राखिएको छ । अर्थ मन्त्रीले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने बताउनुभयो । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेट गएको साउन ३ गते संसदमा पेस गरिएको थियो । विपक्षी एमालेको चर्को नाराबाजीका बीच अर्थ मन्त्री शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो । अर्थ मन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताउनु भए पनि सदनमा एमालेको अवरोध जारी छ । हिजो सोमवार सभामुखले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन ।

प्रतिक्रिया