अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

जिपि कोइराला फाउन्डेसन अमेरिकाद्वारा बालबालिकाहरूलाई झोला एवं स्टेशनरी सामाग्री वितरण

बिआरटीनेपाल २०७८ भदौ २८ गते १०:३६ मा प्रकाशित

क्वीन्स् न्यु योर्क । गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको विशेष पहल एवं सक्रियतामा विभिन्न दाता महानुभावहरूबाट प्राप्त एवं फाउन्डेशनद्वारा खरिद गरी स्कुल जाने ५-१० वर्ष उमेरका बालबालिका हरूलाई निःशुल्क झोला, स्टेशनरी सामाग्री एवं फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेतको विशेष प्याकेज एक कार्यक्रम गरी वितरण गरियो।

स्थानीय समयअनुसार अपराह्न करिब ४:३० बजेबाट वितरण सुरु गरिएको सो कार्यक्रममा बालबालिका हरूलाई क्रमबद्ध रूपमा लाइन लगाई प्रमुख अतिथि, विशेष अतिथिहरू एवं फाउन्डेसनका पदाधिकारीहरूद्वारा उक्त सामग्री वितरण गरिएको थियो।

सो वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा न्यु योर्क राज्यकी एसेम्ब्लीओमेन माननीय जेसीका गोन्जालेस् रोजस् हुनुहुन्थ्यो भने विशेष अतिथि न्यु योर्क सिटी डिस्ट्रिक्ट २५ का डेमोक्रेटिक पार्टीका काउन्सिल मेनका नोमीनी शेखर कृष्णन्, क्वीन्स् सिभिल कोर्टकी डेमोक्रेटिक पार्टीबाट न्यायाधीशकी नोमीनी एन्ड्रीया ओग्लेको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा आफूलाई प्रमुख अतिथिको रूपमा बोलाई बालबालिकाहरूसँग प्रत्यक्ष साक्षात्कार हुने मौका दिएकोमा जिपी कोइराला फाउन्डेसन अमेरिका लाई विशेष धन्यवाद दिँदै न्यु योर्क राज्यकी एसेम्बलीओमेन माननीय जेशीका गोन्जालेस रोजसले आगामी दिनहरूमा नेपाली लगायत समुदायका सवैसँग हातेमालो गर्दै आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको प्रतिबद्धता जाहेर गर्नुभयो। यसै गरी आफूलाई विशेष अतिथिको रूपमा वोलाई सेवा गर्ने मौका दिएकोमा डिस्ट्रिक्ट २५ का डेमोक्रेटिक नोमीनी शेखर कृष्णनले फाउन्डेसन परिवार प्रति आभार प्रकट गर्नुभयो।

जिपि कोइराला फाउन्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेसनको नेतृत्वमा सबै सहयोगी दाता महानुभाव एवं फाउन्डेसन स्वयंको समेत लगानीमा स साना नानीहरूलाई शैक्षिक सामाग्री वितरण गर्न पाउँदा आफू र फाउन्डेसन अमेरिका च्याप्टरले गर्व महसुस गरेको अनुभूति बाँड्दै वितरणका लागी हल उपलब्ध गराई सहजता प्रदान गर्दिनुभएकोमा घ्याल्सुम्दो सेवा संस्था अमेरिका एवं यस्का निवर्तमान अध्यक्ष निमा ल्हमो तथा पदाधिकारी हरूलाई फाउन्डेसन परिवारका तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

सो कार्यक्रमलाई विशेष सहयोग गर्ने क्विन्स डेमोक्रेटिक लिडर एवं हिष्पानिक चेम्बर अफ कमर्सकी कोषाध्यक्ष याना हेनरीक्युज लगायत सबैलाई फाउन्डेसन परिवारको तर्फबाट विशेष धन्यवाद एवं आभार प्रकट गरिएको थियो।

कार्यक्रममा फाउन्डेसन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू क्रमशः प्रेम पौडेल, सूर्य सिम्खडा, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी, प्रेम पौडेल र ध्रुव कुँवर क्षेत्री उपस्थित भई सकृयरूपमा स्वयंसेवा गर्नुभएको थियो भने अन्य अतिथिका स्वरूप संस्थागत प्रतिनिधित्व गर्दै एनआरएन अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष आँग छिरिङ शेर्पा, नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, घ्याल्सुम्दो सेवा संस्थाका निवर्तमान अध्यक्ष निमा ल्हमु एवं महासचिव चेन्जोम लामा, मिस नेपाल नर्थ अमेरिका विजेता गरीमा ज्ञवाली, नेपाल यु.एस पर्वतारोहण सङ्घका अध्यक्ष पासाङ निमा शेर्पा, वरिष्ठ समाजसेवी पुरुषोत्तम पन्थी, मानव अधिकार कर्मी एवं सामाजिक अभियन्ता तेन्जीगं छेयांग, अन्तर्राष्ट्रिय पत्रकार एवं ऐभिनिउज टिभीकी संवाददाता सुनिता शर्मा कोइराला, नेका युवा नेता राजु रौनियार, वरिष्ठ कलाकार एवं नेपाली अमेरिकन कलाकार सङ्घका उपाध्यक्ष विमल डाँगी, समाजसेवी विष्णु राना मगर, समाजसेवी केशवराम राई र सेन्टोन लामा, मोरड॰ समाज अमेरिकाका बुद्ध पौडेल लगायतको उपस्थिति एवं स्वयंसेवकको भूमिका रहेको थियो भने महासचिव छिरीगं राप्के लामाले सुरुबाट नै बालबालिका हरुको नाम दर्ता गर्दै लाइन व्यवस्थापनको कार्य नियन्त्रण गर्नु भएकोले वितरण सहज भएको थियो।

कोरोना कहरको कारणले लामो समय घरबाटै अनलाइन अध्ययन गरी बसेका बालबालिकाहरू र तिन्का अभिभावकहरू विद्यालय खुली भोलिबाट नियमित पठनपाठन सुचारु हुन गएकोमा अत्यन्त उत्साहित देखिन्थे।

यस वितरण कार्यक्रम लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू लगायत कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि एवं सहभागी सबैलाई फाउन्डेसन अमेरिका च्याप्टरको तर्फबाट आभार एवं धन्यवाद प्रकट गर्दै आजको यस वितरणबाट लाभान्वित करिब २०० बालबालिका लगायत सबैको सुस्वास्थ्य एवं उज्ज्वल भविष्यको कामनासहित कार्यक्रम भव्य रूपमा सुसम्पन्न भएको फाउन्डेसनका प्रवक्ता रामचन्द्र अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया