अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

बुवाको मुख हेर्ने दिनको अवसरमा आयो “बा मेरा बा” गीत

बिआरटीनेपाल २०७८ भदौ २३ गते ७:०३ मा प्रकाशित

बुवाको मुख हेर्ने दिनको अवसर पारेर बुवाको सम्मान र सम्झना झल्कने गरी “बा मेरा बा” गीत भ्वाइस अफ नेपाल प्रथम संस्करणका विजेता सिडी विजय अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ । डा. ऋषि बस्ताकोटीको रचना, खेम विश्वकर्माको सङ्गीत र पुष्कर सुनुवारको सङ्गीत संयोजनमा तयार पारिएको उक्त गीतलाई “द टच क्रियसन”ले युट्युब मार्फत सार्वजनिक गरेको हो । गीतको लिरिकल भिडियोको सम्पादन मोहन सुनुवार (नवीन) ले गरेका हुन् ।

गीतमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनको लागि बुवाहरूले गरेको दुख कष्टलाई सरल तरिकाले प्रस्तुत गरिएको छ। सन्तानका सुन्दर भविष्यका लागि आफूले धेरै कुराहरू गुमाएर पनि आफ्ना सुविधालाई भन्दा सन्तानका प्रगतिमा खुसी हुने, सन्तानलाई सदा सदा असल र सरल बन्न प्रेरित गरिरहने संसारभरका बाहरूलाई यो गीत समर्पण गरिएको छ। आफूले थुप्रै सदाबहार गीतहरू गाएको तर बाप्रति समर्पित गीत भने आज पहिलो पटक गाउने सौभाग्य मिलेको बताउँदै गायक सिडी विजय अधिकारीले यो गीत गाउँदा आफू निकै भावुक बनेको बताए। यो गीत गाइरहँदा आफूलाई बुवासँग बिताएका क्षणहरू याद आइरहेको, उहाँले आफूलाई गरेको अगाध प्रेम, आफ्ना लागि उहाँले गरेको सङ्घर्ष सबै सबै ताजा भएको र यो गीतले संसारभरका बुवाहरूप्रति समान प्रकट गरेको भन्दै यो गीत सुने पछि पक्कै पनि आफ्ना बाका आँखा पनि हर्षका आँसुले भरिने छन् भन्दै उनी भावुक भए। यो गीत एक उच्च कोटीको सदाबहार गीत बनेको उनले दाबी गरे।

गीतकार डा बस्ताकोटीले आफ्ना यस अघिका धेरै जसो गीतहरू देखे सुनेका कथाको आधारमा या कल्पनामा लेखिएका भए पनि ” बा मेरा बा” गीत भने आफ्ना दिवङ्गत पिताजीको सरल जीवन, सङ्घर्ष र सन्तानप्रतिको समर्पणलाई अन्तर हृदयबाट अनुभूत गरी संसारका सम्पूर्ण जिम्मेवार पिताजीहरूको सम्मान र समर्पणमा तयार पारेको बताउँछन्। बाहरु साँच्चै नै मैनबत्ती जस्ता हुन् – उनी अगाडी भन्छन- यो गीत सम्पूर्ण सन्ततिहरूका तर्फबाट आफ्नो जीवन जलाउँदै आफ्ना सन्तानलाई अन्तिम क्षणसम्म उज्यालो दिरहने सबै पिताज्यूहरूका लागि सम्मान हो, नेपाली परम्परा अनुसार बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको यो गीतले सम्पूर्ण सन्तानलाई आफ्ना पिताप्रति थप अनुग्रहित बनाउने छ।

सङ्गीतकार खेम विश्वकर्मा आमाका नाममा थुप्रै गीतहरू लेखिएका र गाइएका भए पनि बाका नाममा भने खासै धेरै गीत नबनेको सन्दर्भमा बाको महिमा र चर्चा समेटिएको ऐतिहासिक गीतमा चर्चित गायक अधिकारी र सिद्धहस्त गीतकार बस्ताकोटीसँग सहकार्य गर्न पाउनु आफ्नो लागि निक्कै खुसीको कुरा भएको बताउँछन् । उनी अगाडी थप्छन- गीतका शब्दहरू सुन्दै जाँदा यो गीत गीतकारले हुबहु मेरो आफ्नै बाको कथा थाहा पाएर लेखिदिए जस्तो लाग्यो, सायद यो गीत जसले सुन्छ यसमा उसले उसैको बाकाे कथा भेट्टाउँछ । धेरै खालका शब्दहरूमा सङ्गीत भरेको अनुभव संगालेका विश्वकर्माले यो शब्दलाई भने झन्डै आधा दर्जन प्रकारका सङ्गीत भरेको र अन्ततः सबैले सजिलै गुनगुनाउन सक्ने सङ्गीतलाई छनोट गरी रेकर्डिङ गरिएको बताउँछन् । हुन त आफूले गरेका सबै गीत आफ्नै हुन् -उनी अगाडी थप्छन्- तर कथा पनि आफ्नो लागे पछि दिलैदेखि नै मेहनत बढ्दो रहेछ । यो कुरा सङ्गीत संयोजक पुष्कर सुनुवार र गायक सिडी विजय अधिकारीको मेहनतले पनि देखाएको छ। आफूले जुन भावका साथ सङ्गीत गरेको त्यसलाई दुरुस्त सँग पक्रेर उस्तै भावका साथ अधिकारीले आफ्नो स्वर दिएकोमा सङ्गीतकार विश्वकर्मा निक्कै खुसी हुँदै तमाम श्रोता-दर्शक एवं सङ्गीत पारखीहरूलाई गीत सुनेर/हेरेर स्वस्थ प्रतिक्रिया दिन अनुरोध गर्छन् ।

यो गीतको एरेन्ज गर्न थालेको १ वर्षपछि रेकर्डिङ भयो। व्यस्त सङ्गीत संयोजक पुष्कर सुनुवार त्यसमा दुखी देखिदैनन। बरु जति चोटि दाजु-भाइ (खेम-पुष्कर) भेट भयो त्यति चोटि यो फाइल खोलेर सुनिहाल्ने र केही न केही परिमार्जन गरिहाल्ने काम करिब एक वर्ष चल्यो र अन्ततोगत्वा सानदार गीत बाहिर ल्याइयो भन्ने बुझाइ उनको छ ।

प्रतिक्रिया