अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार

बिआरटीनेपाल २०७८ भदौ १६ गते १:१३ मा प्रकाशित

अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार  थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार  भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार गरिरहेको छ । काबुलमा रहेको अमेरिकी मिसनमा काम गर्ने नेपालीहरूलाई अमेरिकी मिसनले नै स्वदेश फर्काएको छ । अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिसकेको  जनाएको छ भने अमेरिकी सेनाले पूर्ण रूपमा अफगानिस्तानबाट फिर्ता भइसकेका छन् ।

अफगानिस्तानमा बाँकी रहेको सबै नेपालीको उद्धारका लागि छलफल र समन्वय तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । ‘अहिले त्यहाँ बाँकी रहनुभएकाहरु सुरक्षित स्थानमा हुनुहुन्छ र सुरक्षित हुनुहुन्छ, उहाँहरूको उद्धारका लागि सरकारले पहल गरिरहेको छ,’ प्रवक्ता लम्सालले भन्नुभयो,‘हामी छिट्टै उहाँहरूको उद्धारका लागि प्रबन्ध मिलाउँछौँ ।’ काबुल विमानस्थलमा हमला भएपछि परिवारहरू चिन्तामा छन् । अहिले पनि सरकारले त्यहाँ रहेका र सरकारको सम्पर्कमा नआएकाहरूलाई जतिसक्दो छिटो सम्पर्कमा आउन भनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू