अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

क्यालिफोर्नियाको नेपाली समुदाय मुद्दामा

बिआरटीनेपाल २०७८ भदौ ९ गते ६:१७ मा प्रकाशित

सनफ्रान्सिस्को, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (एनएएनसी– न्यान्सी) विरुद्ध नेपाली कम्युनिटी सेन्टरले भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दिने प्रक्रिया सुरु गरेको छ ।

‘हाम्रो वकिलले न्यान्सीलाई मुद्दाको न्यायिक प्रक्रिया अनुसार ३० दिनको म्याद दिएर डिमान्ड पेपर बुझाइसकेका छन्, चित्तबुझ्दो जबाफ नआएमा नेपाली सामुदायिक केन्द्रका लागि भनेर उठाइएको रकम हिनामिना भएको दाबीका साथ मुद्दा दर्ता हुनेछ’ नेपाली कम्युनिटी सेन्टरका कोषाध्यक्ष अनिल पाण्डेले बिआरटी नेपाल डट कमलाई जानकारी गराउनु भएको छ ।

सनफ्रान्सिस्कोमा रहेका नेपाली सङ्घसंस्थाहरुले सबै मिलेर २०११ मा नै नेपाली कम्युनिटी सेन्टर निर्माण गर्ने भनेर सबैले (एमओ यु) समझदारी पत्रमा हस्ताक्षर गरे । यो सबैको साझा सामुदायिक केन्द्र १५ वटा संस्थाको साझेदारीमा अहिलेलाई सामुदायिक भवन नबन्दा सम्मलाई उठेको सम्पूर्ण रकम नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (एनएएनसी–न्यान्सी) को खातामा छुटै NCC को खाता खोली राख्ने जिम्मा दिइएको थियो र एनसीसी निर्माण भई सकेपछि छुटै संस्थाको रूपमा काम गर्ने लिखित समझदारी भएको थियो । तर न्यान्सीले सो रकम पार्टनर संस्थालाई थाह नै नदिई न्यान्सी ले बदमासी पूर्वक आफ्नो नाममा विवादित जग्गा खरिद गर्‍यो र झगडाको बिउ रोप्यो ।

२०१२ र २०१९ मा नेपालबाट पण्डित दिनबन्धु पोखरेललाई बोलाएर सप्ताह लगाई चन्दा र दान सङ्कलन पनि गरियो तर हिसाब पारदर्शी बनाइएन । सामुदायिक भवन बनाउनकै लागि निर्वाचनको आव्हान अनुसार यज्ञलाल श्रेष्ठको अध्यक्षतामा नेपाली कम्युनिटी सेन्टर (एनसिसी) टिम निर्वाचित भयो । प्रतिसंस्था अमेरिकी डलर २ हजार ५ सय सदस्यता शुल्क तिरेर पार्टनरसिप लिने व्यवस्था भए अनुसार १५ वटा संस्थाको पार्टनर सिपमा काम अघिवडनु पर्नेमा कुनै संस्थालाई थाह नै नदिई रकमको दुरुपयोग भयो । अनियमितता कै कारण निर्वाचित यज्ञलाल श्रेष्ठको टिमलाई कुनै पनि हर हिसाब अधिकार नदिई दुई वर्ष यतिकै झुलाएर राखियो भने न्यान्सीमा पटक पटक कोषाध्यक्ष परिवर्तन गरी सही तथ्य कुरा लुकाउने प्रयास भयो । शुल्क तिरेर हामी चुनावमा गएर हामीले नेपाली सामुदायिक केन्द्रका लागि दुई वर्ष कार्यकाल सकियो, हामीले केन्द्रका लागि चन्दा कति उठ्यो, कति खर्च भयो त्यसको विवरण चाहियो र हामीलाई सबै डकुमेन्टसहरू चाहियो भन्दा न्यान्सीका साथीहरूले पारदर्शिता कायम गर्न सक्नुभएन, बारम्बारको प्रयास असफल भएपछि हामी मुद्दामा जान बाध्य भएका हौँ,’ कोषाध्यक्ष पाण्डे भन्नुहुन्छ । विदेशमा रहेका नेपालीले आफ्नो संस्कृति, भाषा र पहिचानको संरक्षणका लागि ठुला सहरहरूमा कम्युनिटी सेन्टरहरू बनाएका छन् । अमेरिकामा यस प्रकारको प्रयास थाल्ने सनफ्रान्सिस्को नै पहिलो सहर हो । तर लस एन्जलस, टेक्ससलगायतका सहरमा पछि पहल थाले पनि यस्ता केन्द्रहरू बनिसकेका छन्, तर विवाद र अनियमितताकै कारण सनफ्रान्सिस्को भने पछि परेको दाबी एनसिसीको छ ।

यसबिच न्यान्सीले साढे तीन लाख डलरको जमिन भने कम्युनिटी सेन्टरका लागि खरिद गरेको जनाइएको छ, अन्य आर्थिक विवरण भने बाहिर ल्याइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू