अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक

बिआरटीनेपाल २०७८ भदौ ६ गते ५:३५ मा प्रकाशित

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को सार्वजनिक भएको छ। उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा। रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा। सुधा शर्मा र आख्यानकार मालिका केशरीले शनिबार संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएको बताउनुभयो ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गर्नुभयो । तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उहाँको भनाइ थियो।

यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौँ। उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ। आँखैले देखेजस्तो छ हरेक घटना। एक बसाइमा पढिसकिन्छ। अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ।’

उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको उहाँले बताउनुभयो । कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताउनुभयो। मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन्। सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उहाँको तेस्रो उपन्यास हो। उहाँ बौद्ध दर्शनका अध्येता हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू