अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

तीर्थराज अधिकारीका कविता: युगचेत र जीवनका अभिव्यक्ति

गोपी मैनाली

गोपी मैनाली २०७८ साउन २२ गते १९:३२ मा प्रकाशित

धेरै चर्चामा नआएका कवि तीर्थराज अधिकारीको कविता यात्रा चारदशक लामो छ । स्वतन्त्र लेखन र वृत्ति साधनामा रमाउनेहरु चर्चाका पछि लाग्दैनन्, फगत साधना गर्छन्, सिर्जनामा पोखिन्छन्, जीवनका अनुभूति संगाल्छन् । वास्तविक सर्जक त्यसैले छोपिएका हुन्छन्, चर्चामा छोपिएका हुन्छन्, समालोचनामा लुकाइएका हुन्छन्, पुरस्कारमा छलिएका हुन्छन् तर सिर्जनामा गहिरिएका हुन्छन् । यस्तै एउटा पहिचान हो कवि तीर्थराज अधिकारी ।

त्यसो त कवि अधिकारी विक्रमको २०४३ सालबाट ‘केही कवि केही कविता’ को सहलेखनमार्फत कवितामा प्रकाशित हुनथालेका हुन् । त्यसपछि ‘सपनामा हराएको विपना’ (२०६६), ‘सत्ताका किनाराहरु’ (२०७०), ‘टाँक’ (२०७१), ‘जङ्गल’ (२०७२) र ‘मकैका फूलहरु’ (२०७६) सङ्ग्रहका रुपमा र पत्रपत्रिकामा दर्जानौ कविताहरु प्रकाशित गरिसको छन् ।

कवि अधिकारी गोरखा सर्जक समाज, नेपाल स्रष्टा समाज र स्याङ्जा साहित्य प्रतिष्ठानमा आवद्ध छन् भने आदर्श खबर (मासिक) मा सम्पादन सल्लाहकारका रुपमा आवद्ध छन् । यस अर्थमा कवि अधिकारी लेखन, सम्पादन र प्रकाशनका गतिविधिबाट नेपाली साहित्यको श्रीबृद्धिमा समर्पित छन् ।

समय अन्तरालका दृष्टिमा कवि तीर्थका कविताहरु चार दशकका अनुभूति हुन् । तर कविताको भावभूमि र विषय परिवेश भने एकै छ, त्यो हो मानवीय बेदना, छट्पटी र उकुसमुकुस । कविताले वेदना र छट्पटीलाई उठाएको छ । सुन्दरता र आनन्दलाई पनि उठाएको छ । आक्रोस र विद्रोहलाई पोखेको छ । जीवनका कहालीलाग्दा परिवेशहरु, जो कविजस्तै जीवनले भोगेका छन्, अत्यास लाग्दो यात्रा जो कविजस्तै जीवनले पार गरेका छन्, उठाएर स्वतन्त्रता र खुसीको खोजी गर्नु कविताको केन्द्रीय भाव हो । यसैका वरिपरि कवि भावनाहरु छचल्किउका छन् ।

जेजस्ता परिवेश र छट्पटी, पीडा र उकुसमुकुस भए पनि जीवन स्वतन्त्रताप्रिय हुन्छ र निजत्वको प्राप्तिमा अनवरत लागिरहन्छ । कवि तीर्थ पनि स्वतन्त्रताका उपासक हुन्, स्वतन्त्र सिर्जनामा आनन्दित छन् । स्वभावैले सबै सर्जक स्वतन्त्रताका पक्षपाती हुन्छन्, निजत्व र मुक्तिका पारखी हुन्छन् । कोही भावनाको तरेलीमा वगेर स्वतन्त्रताको स्वाद लिन्छन्, कोही विद्रोहको विगुल फुक्छन्, कोही मनोलापमा उद्वेलित हुन्छन्, कोही चेतनाको सन्देश दिन्छन्, त कोही आक्रोसको अभिव्यक्ति । शैली मात्र फरक हुने हो । सबै सर्जक स्वन्त्रताका यात्री हुन्, उन्मुक्तताका अन्वेषक हुन । यस अर्थमा सबै सर्जक एकै ड्याङका हुन् । चेतनाले स्वतन्त्रता खोज्छ, स्वतन्त्रताको निर्माण गर्छ र स्वतन्त्र हुन सिकाउँछ पनि । कवि तीर्थ यसको अपवाद किन हुनसक्थे ? बरु अव्वल उदाहरण पो हुन् ।

सर्जक आप्mना सवै सिर्जनालाई समान माया गर्छन्, कुनैलाई राम्रोभन्दा कवि मन कुडिनसक्छ तर समालोचकीय दृष्टिले त्यसो भन्नुपर्छ पनि । ‘मकैका फूलहरु’ उनको उत्कृष्ट कृति हो । मकैका फूलहरु के हुन्, त्यहाँ के भन्न खोजिएको छ भन्ने हृदयङ्गम गर्दा स्वयम् कविका आफ्नै अभिव्यक्ति कविता बुझाउन काफी छन् । उनले भनेका छन्–‘शक्तिशालीहरु सपनाको व्यापार गर्दै निरिह जनतालाई चुट्दै, भुट्दै र लुट्दै सत्ताको सिँढी चढी शानले मान खाँदै मालामाल बनिरहेका छन् । निमुखा÷निम्छराहरु उचालिँदै÷पछारिदै जीवन विलाउन विवश छन्–मकैका फूहरु जस्तै ।’ कविको अभिव्यक्ति सशक्त कविताको चिनारीमात्र होइन, अहिलेका नेपालीहरुको विवशता हो, जीवनको नियति हो, युगको चित्र हो, शासकको चरित्र हो र शासक–शासितको बिम्ब हो । एकथरी मकै भुट्न घान हाल्नेहरु छन्, अर्काथरी घानमा पर्नेहरु छन्, एकथरी भुट्नेहरु छन्, अरुहरु भुटिने, खाइनेहरु छन् । उठ्न त खोज्छन् विचरा घानमा परेहका मकैहरु, घान हाल्नेले कप्टेराले छेक्छ, अन्तिम स्वासमा फूल उठ्दै विष्फोट त हुन्छन् तर बाहिरिन नपाउँदै बिटबाट खँगारिन्छन् । कति समयदेखिको बहुधा हामीहरुको नियति हो यो । अरु धेरै हो जो ‘मकैका फूलहरु’ जसरी नै अरुका अभिष्टका लागि आफूलाई उत्सर्ग गरिरहेका छन्, अस्तित्व सुम्पिरहेका छन् । तर सन्देश पनि हाँडीभरि नै छ, केही पोखिएका छन्, केही छेकिएको होलान् ।

‘मकैका फूलहरु’ को नियतिमा रहेका नेपालीहरु हाँडीभित्रै एकअर्का पोलिँदा÷पड्किँदा पनि परस्पर प्रतिस्पर्धाको जुधाइमा छन्, जीवन पूर्ण पराजित नभएसम्म, अस्तित्व अवसानमा नपुगेसम्म उनिहरु जुधिरहन्छन् ।

‘मकैका दानाहरु
पोलिँदा पीडाले रन्थनिन्छन्
हाँडीको गर्भमा परस्पर जुध्छन्
कप्टेराले किन्छन्
बिट नाघ्न सक्दैनन्
जीवन पोलिन्छन्
हार्नुको क्षणलाई स्विकार्दै
बल थाक्छन्
तुजुकको विश्राममा
मकैका दानाहरु
निर्जीव फूल बन्छन् ।’

‘आखिर जीवनविनका –यी फूल
आगो फुक्नेका
ओदान ठड्याउनेका
हाँडी बसाल्नेका
घान हाल्ने र निकाल्नेका
भोकका मस्ठा परिकार न हुन् ।’ (मकैका फूलहरु)

प्रजातन्त्र, लोकतन्त्र, गुणतन्त्र अनि प्रतिनिधित्व, समेवेशिता, सामाजिक न्याय र अरु धेरै शव्द र प्रयोगमा आफूलाई अस्तित्वविहीन गराइरहेका छन् । त्यसैले ‘मकैका फूलहरु’ मा आवाजविहीनहरुको आवाज पाश्र्वित छ, किनाराका अनुहारहरु देखिएका छन्, बञ्चितीकाहरुको बाध्यता छ र हेपिएका÷थिचिएकाहरुको स्वर छ ।

‘कथा र कथा वाचक’ निराश तर मौन आक्रोस हो । कथा बाचक आप्mनो कथा सुन्न चाहने पात्र पनि भेट्दैन, जसरी बहुधा नेपालीहरुका दुखका कथा सुन्नेहरु कोही छैनन् । प्रकृति पनि उसको दुख सुन्न चाहँदैन, जून पनि बादलमा लुकिदिन्छ्, घाम आगो ओकलेर गाली गर्छ, फूलहरु मौन असहमतिमा टाउको हल्लाउँछन्, माया गरिएका चराहरु पनि उसैलाई शिकारी सम्झन्छन् । त्यसैले कथा सुनाउन नै नपर्नेगरी जीवन अवशानमा पुग्न चाहन्छ कथा वाचक ।

‘थकित मेरो तातो निश्वासले
ढुगाको सिरानी र माटाको ओछ्यानमा
शितलताको आभास गर्दै
बिस्तारै आँखाहरु
लोलाउँदै गए भने
मेरा यी जलनका कथाहरु
मैले कहिल्यै
सायद कुनै पनि पात्रलाई
सुनाउनुपर्ने छैन
सुन्ने श्रोताहरु
खोज्नुपर्ने छैन ।’ (कथा र कथावाचक)

रात र विम्बहरु पनि अन्याय र शोषणको विम्ब हो । अन्याय र अत्याचार गर्न रात नै चाहिन्छ, दुराचार र कुकृत्यका लागि रात नै चाहिन्छ । अरु धेरै अनाचार गर्न रातै सजिलो छ । रातको विम्ब समकालीन नेपाली समाजको विम्ब हो ।

‘उस्तै उस्तै रुपहरु’ ले समाज व्यवस्थालाई खिज्याएको छ । एउटा ‘उस्तै’ अवसरको अनन्त दोहन गर्छ, अर्को ‘उस्तै’ अनन्त पसीना र पीडामा छ । प्लेस प्रिमियम पाएकाहरु रमाउँछन्, स्वतन्त्रताको उपभोग गर्छन, अवसर मज्जाले लिन्छन् । प्लेस प्रिमियम, वर्थप्लेस प्रिमियम नपाउनेहरु अवसरबाट किनारा लाग्छन्, पीडामा पिल्सिन्छन्, जीवन घिच्चिएर मृत्युमा पुग्छन्, जीवनको आस्वाद गर्नै नपाई । यस्ता ‘उस्तै’ हरु धेरै छन् । आखिर दुवैको जीवन ‘उस्तै’ न हो । उस्तै उस्तै रुपहरु लाई ‘उस्तै’ कहिले बनाउने ? प्रश्न अनुत्तरित छ ।

‘यस जन्ममा’ मानिसले पाउने एउटै जीवनमा उज्यालो हेर्ने रहर, स्वतन्त्रताको स्वाद लिने रहर, उन्मुक्त हुने रहर र खुसी हुने रहरको आभ्यान्तरिक स्पन्दन हो । सायद सबै विवश जीवनहरु यही रहरमा तड्पिएका छन्, मकैका फूलहरु जस्तै ः

‘अँध्यारो उपहार नदेऊ
मेरो अर्को कुन जन्म र ?
बिन्ती १ यसै जन्ममा
रहर छ उज्यालो हेर्ने
सुन्दर आँखाका नानीमा
कुनै कालो पर्दा नलगाऊ ।’ (यस जन्ममा)

कविभाव संभावनाको जीवन र संभावनाको जन्मभूमिमा खल्लो जीवन विताउन विवश जीवनहरुको स्वर हो । मकैका फूलहरु भनौ कि जङ्गल वा सपना हराएका विपना । जीवनको स्वत्व वोध गर्न कवि कहिले प्रकृतिको, कहिले जन्मभूमिको त कहिले स्वतन्त्रताको सहारा लिन्छन् । ‘नारी जीवनको अर्थ’ मा पनि नारी जीवनको महत्तावोधको आग्रह छ । नारी जीवनको अर्थ कोख र काखको यथार्थ हो, उदात्तीकरण हो । कविले नारीलाई प्रकृतिको चित्रका स्वरुपमा उतारेका छन् । प्रकृतिले सिर्जना गरेजस्तै नारी सिर्जनाका खानी हुन् । प्रकृति जस्तै नारी जननी हुन् । प्रकृतिले पीडा सहेजस्तै नारी प्रसव पीडाबाट सिर्जना गर्छिन । नारी सहनशीलता र मायाको खानी हुन् । त्यसैले कविता नारी हुनुको गर्व गर्न, धर्ती जस्तै सपाट र आकाश जस्तै व्यापक हुन् अग्रह गर्दछ । सिर्जना महान हो, नारी सिर्जना वा आमा हुन् ।

कवि तीर्थ प्रकृतिका त तीर्थयात्री हुँदै हुन्, मानव प्रकृतिको रहस्यको पनि उद्घाटन गर्दछन् । ‘अनौठौ जीव’ मानिसको प्राकृतिक गाथा हो, संरचना चित्र हो । युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्रतिविम्ब’ कै भावभङ्गीमा प्रस्तुत छ । कविता आफैप्रतिको, आफ्नै शरीर चित्रको सोलोडोलो प्रस्तुती हो ।

‘यो आकृतिको मान्छे
फोक्सो खलाँतीले
हावा प्m्याकुन्जेल
यो नको पिञ्जडामा जराजस्तै उफ्रिरहन्छ
कल्पनाका फूलहरु सजाएर
हातका रेखाहरु ग्निरहन्छ

सृष्टिको यो
अनौठो जीव मान्छे १ १ु

कवि तीर्थराज अधिकारी गद्यमा मात्र होइन, पद्यमा पनि उत्तिकै सशक्त छन् । छन्दमा लेखिएका उनका कविता कला र सौन्दर्यमा उत्तिकै अव्वल लाग्छन् । ‘सपनामा हराएको विपना’ र ‘सत्ताका किनाराहरु’ मा प्रकृति, विद्रोह, राष्ट्रप्रेम र जीवन भोगाइका अनुभूतिलाई मीठास शैली र सरल शव्द विन्यासले कवितालाई कालजयी बनाएको छ ।

कविलाई नेपाली हुनुको गर्व छ । नेपालीहरुको विरत्व र स्वाभिमानी पृष्ठभूमिमा कविमन उचालिएको छ । जातीय–सांस्कृतिक सद्भाव र हार्दिकताले राष्ट्रलाई एउटा सुन्दर फूलवारी बनाएको छ । त्यो फूलवारी अझै रङ्गीचङ्गी र सुगन्धित बनाउन कवि आह्वान गर्दछन् ः

‘न जातको भेद छ न धर्म भेद
न वर्णको भेद छ न लिङ्ग भेद
भाषा कुनै रङ्ग थिएन भेद
उदार संसकार कहाँ विभेद ।’ (यो फूलवारी सवले सजाऊँ)

राष्ट्र भूगोल मात्र होइन, भावनाको एकत्वीकरण हो, भाषा र भावना समानुभूति हो, माटो र मुटुको एकीकरण हो । यो भावनाको सूत्रमा बाँधेर नै भूगोलहरु राष्ट्र बन्छन्, माटोहरु राष्ट्र बन्छन् । माटो र मुटु वा भावना र भूगोल सम्मिलन गराइ राख्न सकिएन भने राष्ट्रियता कमजोर हुन्छ । नीति, विधि र शक्तिले मात्र राष्ट्र कसिलो हँुदैन । जातीय–भाषीय विभेद, वर्गीय–लिङ्गीय विभाजन, असहिष्णुता र सामाजिक सम्मिलनको क्रम टुट्दै गएकोमा कवि मन विह्वल छ ।

‘पुर्खा थिए बीर स्वाभिमानी
गले कहाँ ती दिलका कमानी
बनी कतै दास न गाँस खाए
सङ्कट आए सब पार लाए ।

त्यै रक्तको अंश र बंशलाई
के गर्न लाग्यो कसले जुधाई
नशा दशा यो किन होस हुन्न
धरा गरामा किन छिन्नभिन्न ।’ (यो फूलवारी सबले सजाऊँ)

स्वच्छन्तावादी कविहरु प्रकृतिमा औधी रमाउँछन्, प्रकृतिसंग मितेरी लगाउँछन्, प्रकृतिसाम्य बनेर सुन्दरतासँग खेल्छन् । कविशिरोमाणि लेखानाथ, मकाकवि देवकोटा र राष्ट्रकवि माधव घिमिरेमा यो विशेषता पाइन्छ । प्रकृतिसँग सर्जक मात्र रमाउने होइन, सामान्य मानिस पनि पानी पँधेरो, मेला मजदुरी, सुख सयल र दुख निराशामा प्रकृतिसाम्य बन्दछन् । तर सामान्य मानिसमा किव÷सर्जकसँग भएजस्तो भाषा र अभिव्यक्तिको सामथ्र्य हुँदैन । त्यसैले ती व्यक्तिन सक्तैनन्, जसले अभिव्यक्ति पाए, ती लालित्यपूर्ण हुँदैनन् । कवि अधिकारी प्रकृतिसँग खेलन, रमाउन, प्रकृतिको महिमा गर्नसक्ने शक्ति छ र ती लालित्यपूर्ण शिल्मा छन् ।

‘सरोजको माथ तडागमा छ
हिमाल अग्लो जल छालमा छ
पतङ्गका फर्फर पङ्खलाई
छ बाग तान्दै रसले भुलाई ।’ (मधु बहार)

कवि अधिकारी लेखानाथ, माधव घिमिरे भरतराज कै कोटीमा प्रकृति चित्रिणमा छन् । कवि हिमालको सन्दरता, झरनाको स्वच्छता, तालका तरङ्ग, तराईका फाँट, पहाडका जैविक विविधता र लेकवेसीसँग मनमुग्ध छन् । ‘मेरा माटाका विम्बहरु’ मा कवि रमिन्छन् । सायद प्रकृतिको सुन्दरता र जन्मभूमिको ममत्वले कविलाई सिर्जना प्रेरणा दिइरहेको छ ।

‘अग्ला–अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन्
छाँगा सेत ाझरझर जहाँ बैंसका चाल चल्छन्
कखि च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस
चल्ने हावा मलय छ जहाँबोक्छ मीठो सुवास ।’ (मेरा माटाका विम्बहरु)

कविका कवितामा समग्र प्रकृति प्रेम त छताछुल्ल छ नै, आफ्नो जन्मभूमि गोरखा र यसको परिवेशमा कवि झनै मुग्ध छन् ।

‘सुपुष्पले कोमल अङ्गलाई
आएर छामून भमरा रमाई
यतै गरुन् प्रेम मिलाप मौरी
खेलून् यतै शङ्कर साथ गौरी ।’ (आरुघाट)

पेशाप्रतिको माया, ममत्व र गर्व प्रत्येक मानिसलाई हुन्छ, सर्जक त यसप्रति झनै भावुक हुन्छन् । व्यक्ति कर्ममा रमाउन नै वृत्ति चयन गर्दछन् र जीवन जिउने आधार बनाउछन् । पेशाप्रति रमाउनु वृत्तिवोध र स्वयम्जवाफदेहतिा पनि हो । पेशाप्रति जवाफदेही हुनु कर्मलाई न्याय गर्नु पनि हो । सबै पेशा त्यत्तिकै गर्विला महत्वका छन् । सबै पेशाको उन्ननयनले नै सभ्यता फराकिने हो । पेशाभित्रको व्यावसायिक सदाचारले नै पेशाको इज्जत बढ्छ र त्योसो गर्ने वृत्तिसेवक आफनो उचाइ बढाउँछ । कवि शिक्षक पेशाको गर्वमा छन् ः

‘साना बालकमा नयाँ पथ दिने जिम्मा तिमीमै छ रे
आँखा ज्योति विलाउदै तल झरे माटो कठाङ्ग्रिन्छ रे
डाँडा पर्वत शैलले सुदिन क्यै मुस्कानको जीवन
खोज्छन् हात बढाऊ कर्मपथमा कतर््व्य सम्झीकन ।’ (शिक्षक)
ं ं ं
‘रमाउँदै पाठ पढाउने म
सद्भावले हात समाउने म
हाँसेर खेल्ने कति साथ पाएँ
बिताउँदा काल न चाल पाएँ ।

मभित्र के धर्म र जात भेद
न छन कुनै लिङ् र रङ्ग भेद
उदारको हर्दम कर्म मेरो
भूगोल, भाषा न छ बर्ग मेरो ।’ (शिक्षक ः म)

‘शिक्षक’ र ‘शिक्षक ः म’ को समय अन्तराल छ । तर पछिल्लो समय झनै पेशा निष्ठा र समर्पणमा शिक्षकको महत्व झल्किएको छ । सामान्यतः मानिसहरु अर्को पेशाप्रतिको स्वादमा लोभिन्छन् । तर कविले पेशाप्रति न्याय गर्न सिकाएका छन् ।

सत्ता र शासनको विकृतिप्रति सर्जकहरु साधै विद्रोह गर्छन । भन्ने पनि गरिएको छ, कवि साहित्यकार सत्ताका स्थायी विरोधी हुन् । सर्जकहरु समाजमा सुसभ्य संस्कृति र सुशासनको पक्षमा हुन्छन्, सिर्जनामार्फत यसका लागि शङ्खघोष गर्छन् । त्यसैले रिमाल हुन् कि भूपि हुन, तीर्थ हुन् कि लव गाउँले हुन्, सबैमा समान चेतना पाइन्छ, समान प्रवृत्ति पाइन्छ, प्रस्तुतीको शैलीमात्र भिन्न हो । स्वदेशमा मात्र होइन, मानव अधिकार र स्वतन्त्रताप्रति विश्वका कुनै पनि शासक निष्ठूर बन्दा कवि हँुङ्कार गर्छन् । तियानमेनमा हजार्रौ युवामाथि बुल्डोजरले पेल्दा कवि कुर्लिन्छन् ः

‘नरमुण्ड लाल रङ्ग विषक्त छ
भुटेर कति दिन टिक्छ शासन ?
घडीको सुई कहा उल्टो घुम्छ ?
बन्द कोठा फुँटाउछ –मान्छे
हत्कडी चुँडाउँछ – मान्छे
सङ्गीन गलाउँछ –मन्छे ।’ (तियानमेनका प्राणहरु)

कवि तीर्थको कविचेतले समानता, स्वतन्त्रता र न्यायको खोजी गर्छ, खुसी र समृद्धिको आह्वान गर्छ । स्वतन्त्रता भनेको मानवीय बस्तु हो, बौश्विक विषय हो । स्वतन्त्रता भनेका समानता हो, न्या हो । तर हाम्रो सत्ता सर्वसाधारणका अनुभूति र अपेक्षालाई प्रतिनिधित्व गर्न सक्दैन, अपार संभावनाको उपयोग गर्न सक्दैन र स्वयम् सर्वसाधारणको क्षमताको उन्नयन गर्न सक्दैन, उल्टै उनीहरुलाई किनारा पार्दछ ।

‘तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ
फक्री फुल्ने अधरभरिका मन्दमुस्कान हर्छ
बोक्छौ भारी कल र छलको भारले थुन्छ बाटो
तिम्रो यस्तै अधममतिले जन्मको गुम्छ बाटो ।’ (सत्ताका किनाराहरु)

समाज ढोंगतिर अगि बढेको छ । समाजमा अशान्ति छ, । हिंसा छ । हिंसा भावनात्मक र भौतिक दुवै छ । भावनात्मक हिंसा विचारको हिंसा भौतिक भन्दा डरलाग्दो छ । बुद्धको पूजा गरेर हिंसालाई आचरण बनाउने ढोंगीहरुप्रति कविमन दुखी छ । पाषाण मूर्ति पूजा गर्ने तर मानवता वास्ता नगर्नेप्रति कवि दुखी छन् । समाज परिश्रम र पसिनाबाट पनि भिन्न हुँदैछ । त्यसैले परिश्रमी ‘धनबहादुरको निधन’ प्रति दुखी छन् । धनबहादुर परिश्रमका विम्ब हुन् । कति धनबहादुरहरु जीवनको अर्थ नै वुझ्न नपाइ पसिनाका बुँद पुछ्दापुछ्दै जीवन उत्सर्ग गर्न परेकोमा कवि औधी दुखी छन् । थुप्रै वेथिति र विसङ्तिहरु विभिन्न कवितामा पोखिएका छन् । यो सबैको दोष, सत्ता, शिक्त र उनिहरुको जङ्लीपना हो । सत्ता बदलिए पनि, पात्र बदलिए पनि शासन बदलिएन र सामाज विसङ्गतिपूण छ । कवि भन्छन् ः

‘मृगशावकहरुमा
सुखको निद्रा छैन
निरङ्कुश मत्ताहरु
छट्टु ब्वाँसा र स्यालहरु
कुनै विधानमा बाँधिएलान ?

‘जङ्गल फाँडियो
गाउँ बस्ती बस्यो
गाउँ उचालिएर सहर उज्यालियो
आकृतिका मानव बस्तीमा
तर नियत र स्वभावहरु
उही जङ्गलका पथक छैनन् ।’ (जङ्गल)

कवि न हो, सँधै उत्साह र विद्रोहभाव मात्र राख्दैन । चेतना र सिर्जनामा स्वप्निल बन्दैन । संवेदनाका खानी कवि निरास र म्लान पनि छन् । दुखमा द्रवित पनि छन्, पीडामा पिल्सिएका पनि छन्, त्यै अनुभूति कविले उठाएका छन् । आखिर जीवनवृत्ति उठाउने कवि मानवीय निराशा उठाउन किन चुक्थे ः

‘आस्थाका मनहरु मूच्र्छित छन्
विषालु धुँवामात्र छ आँखामा
सिर्जनाकै खडेरी परेको मौसममा
मिल्किएको उपेक्षित कलम च्यापेर
कागजका मान्द्रामा अक्षरका आँसुहरु
बिस्कुन बनाएर कति सुकाऊँ १ु (पराविजत विजेता)

कवि विजेता हो । उ भावमा पनि विजेता हो, अभावमा पनि विजेता, शक्तिमा पनि विजेता र आशक्तिमा पनि विजेता । उच्छवासमा पनि विजेता हो आक्रोसमा पनि विजेता हो । तर कवि अहिले पराजित छ । कवि मात्र होइन, सर्जक पराजित छ, पेशा पराजित छ, न्याय पराजित छ, निष्ठा झनै पराजित छ । इमान, जमान र कर्म पराजित छ । उत्साहमा ‘शिखर चुम्ने पैतालाहरु’ पराजित छन् । त्यसैले इतिहास खोजेर भविष्य बनाउने सङ्कल्प छ कविमा । कवि आफैमा आग्रह गर्दछन् ः

‘कुम्भकर्ण निद्रामा निदाउनु हुँदैन
कृतघ्न भस्मासुर पनि म ब्यूँझनु हँुदैन
जीवनशून्य नि–श्वास
को बाँचन सक्छ ?
मान्छे त–
श्रद्धा–स्रष्टा जीवन्त हुनुपर्छ
अक्षय, भूत, वर्तमान, भविष्य हुनुपर्छ
विश्वास अमर अननत हुनुपर्छ
सोचेर वर्तमान–
बटो म यही रोजीरहेको छु
नसामा अलिकति रगत उमारेर
इतिहास म आफू
आफ्नै खोजरहेछु ।’ (इतिहासको खोजीमा)

‘सिर्जना स्वान्त सुखाय मात्र होइन, पीडा, यातना र भोगाइहरुको निकास हो’ । कवि तीर्थको काव्य साधना स्वान्त सुखायका खोजी मात्र होइनन् नै न पीडा, यातना र भोगाइहरुका निकास मात्र हुन् । न ती अनुभूतिका कलात्मक अभिव्यक्ति मात्र हुन् । ती त समयचेत, जागारण र उत्सर्गका आकाङ्क्षा हुन् । कविले सिङ्गै समाज, शासन र संस्कृतिलाई उठाएका छन् । त्यसैले कविता कालजयी छन् ।

‘मकैका फूलहरु’ का भूमिका लेखक साहित्यकार एवम् विचारक डा. पुरुषोत्तम दाहाल कवि तीर्थको कवित्वको छर्लङ्ग प्रकाश पार्छन् ‘तीर्थ जीवन–व्यूहबाट केही बाहिर हुनखोज्दै गर्दा उनका सिर्जनाहरुको जन्म हुने गर्दछ । ‘..कवितामा जीवनको, जगत्को, यथार्थताको, जीवनमूल्यको, अनुभवको समवेत सिर्जनालाई उतारिहरको हुन्छन्’ । यहाभन्दा बढी कवि तीर्थका कविताका विषयमा के भन्न जरुरी छ र । सम्पूर्णता दिइसकेपछि अंश÷अङ््गहरुको विचरण कति आवश्यक हो र ?

डा. शैलेन्दुप्रकाश नेपालका दृष्टिमा ‘जीवनलाई कविताकलामा ढालेर मूलतः स्वच्छन्दतावादी शैलीमा युगका ध्वनिहरुलाई’ उतार्नु कवि तीर्थको विशेषता हो । कवि कलानिधि दाहालका शव्दमा ‘स्वाभिमानी तर ठट्यौले, गम्भीर अन्तरचेतनाको स्तम्भ तर हसिलो स्वरुपबाहक तीर्थराज अधिकारी स्वच्छन्दतावादी लेखनकै सेरोफेरोमा रहेर पनि कवि माधव घिमिरेजस्तै विचार÷भावप्रवाहमा स्वच्छन्दता र भाषागत संरचनात्मक संयोगमा पूर्ण परिस्कारवादी रहेको म पाउछु ।’

सफल सिर्जनामा अक्षरले पाठकलाई स्रष्टा (पात्र) को समानुभूतिमा लाने शक्ति हुन्छ, र पाठक आफै त्यहाँको कथानक बन्छ, अभिव्यक्तिलाई आफ्नै अनुभूति सम्झन्छ र आफै स्रष्टा भएको अन्तरवोध गर्छ । कवि तीर्थका कवितामा पाठक आफूलाई सिर्जना समानुभूतिमा पाउँछ ।

उनका प्रकाशित कृतिहरुको विवेचना गर्दा कवि तीर्थ जीवनका भोगाइका अनुभूतिलाई एकदमै सहज ढङ्गले उतार्ने कालिगढ हुन् । उनीमा प्रकृतिरम्यता छ, युगचेत छ, विद्रोह छ, मनोवाद छ । कतै उच्छवासमा तैरिन्छन् त कतै भावमा गहिरिन्छन् । कतै आक्रोसमा त कतै अपेक्षामा पोखिन्छन् । कतै उत्साहको पौल छ त कही निराशाको म्लानी छ । आखिर जीवन यी सवै अनुभूति–उच्छवासको छ्यास्मिस न हो । त्यसलै कवितामा सिङ्गै जीवन र युग बोलेको छ, कविताका अक्षरले जीवन पाएका छन् । यस्ता कवि समकालीन समाजमा कमै छन् ।