अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको दावी, राष्ट्रपति बाइडेनसहितका नेताद्धारा राजीनामा दिन आग्रह

बिआरटीनेपाल २०७८ साउन २० गते ८:४१ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ ।प्रतिवेदन आएसँगै राष्ट्रपति जो बाइडनले आरोपी डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले राजीनामा गर्नुपर्ने धारणा सार्वजनिक गरिसक्नुभएको छ । पार्टीका अरु नेताले पनि कुमोले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

गभर्नर कुमोले कार्यस्थलमै दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएकामा मंगलबार राज्यकी महान्यायाधिवक्ता लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमा ६३ वर्षीय कुमोले गलत नियतले महिलालाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख छ । कुमोको कार्यालयमा कामको वातावरण विषाक्त रहेको पनि उल्लेख छ ।

राष्ट्रपति बाइडनले ह्वाइटहाउसमा संवाददाताहरूसँग राज्यको संसदले महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बताउनुभयो ।तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले विज्ञप्ति निकालेरै पद त्याग्न कुमोलाई भन्नुभएको छ । राज्य सदनका दुबै पार्टीका सांसदले पनि पद त्याग्न भनेका छन् ।

कुमोले भने आरोप अस्वीकार गर्दै आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रूपमा बुझेको र प्रतिवेदन अन्यायपूर्ण भएकाले राजीनामा नदिने उल्लेख गर्नुभएको छ । कुमोमाथि वर्तमान र पूर्व महिला कर्मचारी र बाहिरका महिलाले पनि आरोप लगाएका छन् ।सन् २०११ मा न्यूयोर्कको गभर्नर बन्नुभएका कुमो त्यसअघि त्यही महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू