अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

कोरोनाका कारण विदेश थप ३९ जना नेपालीको निधन

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:५४ मा प्रकाशित

लन्डन, । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।

गैर आवासीय नेपाली सङ्घ –एनआरएनए) का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली सङ्क्रमणमुक्त भएका छन् ।

सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।

यसैबिच नेपालमा हालसम्म पीसीआर परीक्षणबाट ६ लाख ९३ हजार १ सय ९ जना संक्रमित पुगेका छन् । ९४.१ प्रतिशत अर्थात् ६ लाख ५२ हजार २ सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण हालसम्म ९ हजार ८ सय ३४जनाको निधन भएको छ ।

गैर आवासीय नेपाली सङ्घले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू