अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

गाईजात्रे झटारो ‘बकम्फुसमय नमः’ लिएर आए शिवशंकर

बिआरटीनेपाल २०७८ साउन १४ गते ६:५० मा प्रकाशित

काठमाडौ । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रूपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै विभिन्न हास्य व्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दैछन् । आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले यो वर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसमय नमः’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसङ्गति प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसमय नमः’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन बर्षबढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधवार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसमय नमः’ २० औँ कोसेली हो । गतबर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए ।

हास्य कलाकारका लागि गाईजात्रा एउटा महान् उत्सव भएकोले लामो समयदेखि यो वर्षमा गाईजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए ।

‘गत वर्ष मेरो ‘लकडाउन’ नामक गाईजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटक लगायत सामाजिक सञ्जालमा समेत भाइरल भयो’ रिजालले भने ‘म हरेक वर्ष आफ्नो पर्सनल गाईजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाईजात्रे कोसेली पनि आउने गरेको र यो वर्ष पनि आउने रिजालले सुनाए ।

रिजालले ‘हुकुम बक्सियोस्’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरूको रमाइलो प्रस्तुति समेटेका छन् ।

गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलावा अलावा दमन रुपाखेती, शशी विक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह लगायतको अभिनय रहेको छ । गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भूमिकामा देखिएकी छन् । भिडियो समेत रमाइलो बनेको छ ।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामयिक विषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको रिजालको भनाई रहेको छ ।

प्यारोडी गीतमा रजाल तथा शङ्कर कार्कीको शब्द रहेको छ भने स्वर शशी विक्रम थापा तथा राधिका हमालले दिएका छन् ।

रिजाल कलाकारिताको हरेक विधामा फिट देखिँदै आएका कलाकार हुन् । बितका वर्ष झैँ यो वर्षको आफ्नो गाईजात्रे कोसेली दर्शकश्रोताले रुचाउने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया