अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

भारतमा हंगामा मच्चाएको ‘पेगासस स्पाइवेयर’को त्रास नेपालमा पनि, फोन ट्यापिङसम्मको जोखिम

बिआरटीनेपाल २०७८ साउन १३ गते ८:१२ मा प्रकाशित

केही दिन अघि भारतका नेपाली राजदुत निलाम्बर आचार्यको फोन ट्यापिङ भएको खबर बाहिरियो । यद्यपि ट्यापिङ भएको वा नभएको यसको तथ्य अझै पत्ता लागेको छैन । आचार्य सहित भारतमा पत्रकार, कानुन व्यवसायी र अधिकारकर्मी गरी १ सय ८९ जनाको फोन ट्यापिङ भएको खबर सार्वजनिक भएको थियो । भारतको समाचारले नेपालमा समेत सुरक्षाबारे चासो बढेको छ ।

केही समयअघि विभिन्न देशका ५० हजार मानिसको फोन नम्बर सूची लिक भयो । ती नम्बर ‘पेगासस स्पाइवेयर’ मार्फत लिक भएको खुलासा भयो । ‘पेगासस स्पाइवेयर’, इजरायलको साइबर इन्टेलिजेन्स संस्था एनएसओ ग्रुपले भ्रष्टाचार नियन्त्रणका लागि निर्माण गरेको सफ्टवयेर हो ।

अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायीलाई लक्षित गरी यो सफ्टवयेरको प्रयोग गर्दै आएको इजरायली जासुसी संस्थाले केही देशलाई समेत यो सफ्टवेयर बिक्री गरेको आरोप लागेको छ । इजरायली एनएसओ ग्रुपद्वारा सन् २०१६ मा निर्माण गरिएको यो सफ्टवयेर पहिले एन्ड्रोइड प्रयोगकर्ताको मोबाइलमा व्यक्तिको अनुमतिविना नै प्रवेश गर्नसक्छ ।

सफ्टवेयरले व्यक्तिको अनुमितविना नै इमेल, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट फोनसम्म पहुँच राख्ने र त्यसकै आधारमा व्यक्तिगत डाटा संकलन गर्ने गरेको जानकार बताउँछन् ।

साइबर सुरक्षा सम्बन्धी कम्पनी क्यास्पाइरका अनुसार पेगाससको माध्यमबाट व्यक्तिको महत्वपूर्ण डाटाका साथै इमेल, फोन कल सुन्न सकिने, लोकेशन स्क्रिनसट लिनका साथै फोनमा भएका कल डिटेल्स र हिस्ट्री समेत हेर्न सकिन्छ । नेपालमा पनि यसको आतंक बढ्नसक्ने भएकाले समयमै सचेत हुनुपर्ने सूचना प्रविधिविज्ञ उत्तम कार्की बताउनुहुन्छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पनि यस विषयमा अनुसन्धान अघि बढाएको बताउँछ । तर, गृह र सञ्चार मन्त्रालयका अधिकारीहरू भने यसबारे बेखबर छन् । भारतमा हुने हरेका गतिविधिको प्रभाव नेपालमा पर्ने भएकाले समयमै सचेत भइ प्रतिरक्षात्मक उपाय अपनाउनु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू