अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

नेजाको अध्यक्ष पदमा न्यौपाने, उपाध्यक्षमा गुरुङ र महासचिवमा भण्डारी विजयी

बिआरटीनेपाल २०७८ साउन १२ गते १४:०६ मा प्रकाशित

भर्जिनिया । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को गत आइतबार भएको निर्वाचनमा अध्यक्ष पदमा विकास राज न्यौपाने, उपाध्यक्षमा मच्छे देवी गुरुङ र महासचिवमा सुरज भण्डारी निर्वाचित भएका छन् ।

नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारण सभाले विकासराज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि अध्यक्षमा निर्वाचित गरेको छ । उनले ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत र अनुज थापाले २१ मत प्राप्त गरेका छन् । अध्यक्ष, उपाध्यक्ष र महासचिव यी तीन पद मध्ये अन्य सबै पदमा निर्विरोध भएको छ । निर्विरोध हुने अन्य पदमा सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई तथा सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, सङ्गम बानिया तथा ज्ञानप्रसाद शर्मा छन् ।

यसै गरी क्षेत्रीय संयोजकहरूमा शिव नेपाल(पश्चिम), बिराज भण्डारी(पश्चिम), लीला देवी ओझा (डिसी क्षेत्र), गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सुजन पण्डित (दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा प्रारम्भमा अनुज थापा, विष्णुहरि घिमिरे, विकासराज न्यौपाने, गोकुल ढकाल, किरण मरहट्ठा, निदेश अधिकारी सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये निदेश अधिकारीले सबैभन्दा पहिले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए । यसै गरी किरण मरहट्ठा त्यस पछि विष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बिच प्रतिस्पर्धा भएको थियो ।

आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ विजयी भएकी छिन उनले सबै भन्दा बढी ६० मत प्राप्त गरेकी छिन भने महासचिव पदमा सुरज भण्डारीले ४१ मत प्राप्त गरी विजयी भएका छन् । नेजा निर्वाचन समितिले जारी गरेको मतदाता सूचीमा १४५ जना रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ८१ मत खसेको थियो ।

निर्वाचन पछि निर्वाचन समितिका संयोजक पूर्व नेजा अध्यक्ष आङ छिरिङ शेर्पाले निर्वाचित उमेम्दवारहरुलाई शपथ दिलाएका थिए भने नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले निर्वाचित उमेदवारहरुलाई प्रमाण-पत्र हस्तान्तरण गरेका थिए ।

नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले नव निर्वाचित अध्यक्षलाई नेजाको सचिवालयको प्ले-कार्ड हस्तान्तरण गरेका थिए । साथै नवनिर्वाचित उपाध्यक्ष तथा निवर्तमान कोषाध्यक्ष मच्छेदेबी गुरुङले नव निर्वाचित कोषाध्यक्ष प्रभात भट्टराईलाई कोषको हिसाब किताब, चेक बुक तथा डेबिट कार्ड हस्तान्तरण गरेकी थिइन ।

साथै निवर्तमान महासचिव किरण मरहट्ठाले महासचिवको सम्पूर्ण काम डिजिटल भएको सबै डिजिटल प्लेटफर्मको पासवर्ड नवनिर्वाचित महासचिवलाई थाह भएकोले केही दिनु नपरेको भनेर जानकारी गराएका थिए । साथै सबै पासवर्ड परिवर्तन गर्न अनुरोध पनि गरेका थिए ।

अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली सहरमा भएको उक्त कार्यक्रममा निर्वाचन समितिमा पूर्व नेजा अध्यक्ष आङ छिरिङ शेर्पा (संयोजक), पूर्व नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) अध्यक्ष नारायण सापकोटा, पूर्व नेजा अध्यक्ष भोला आचार्य तथा नेजा पूर्व कोषाध्यक्ष शैलेश पोखरेल थिए ।

प्रतिक्रिया