अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२४ मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भन्नुभयो ।

प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भन्नुभयो, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपाए विपक्षमा बस्छौँ ।’

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन प्रदेश सरकारलाई थियो । जनता समाजवादी पार्टीका तीन जना सदस्य कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनमा रहेका छन् । विपक्षी गठबन्धनसँग सभामुखबाहेक ४१ सांसदको समर्थन छ । अब जसपाको विवाद टुङ्गो लागेपछि उसको सिङ्गो समर्थन विपक्षी गठबन्धनलाई हुने निश्चितजस्तै छ । नाटकीय कुनै परिवर्तन भएन भने मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना छैन ।

प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोगमा मुख्यमन्त्रीका रूपमा पोखरेलको दोस्रो नियुक्ति गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै विपक्षी गठबन्धनले विरोध गर्दै प्रदेश सभाबाट वैधानिकता पुष्टि गर्न चुनौती दिँदै आएका थिए । प्रदेश सभाबाट आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बजेट अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू