अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, महन्थ ठाकुर पक्ष दलविहीन

बिआरटीनेपाल २०७८ साउन ११ गते ७:३० मा प्रकाशित

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे ।

उपेन्द्रले जसपामा आधिकारिकता पाएसँगै आयोगले महन्थ पक्षलाई भने नयाँ दल दर्ताका लागि आउन भनेको छ । नयाँ पार्टी दर्ता गर्ने हो भने रीत पुर्याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो ।

उपेन्द्र यादवले दलको लेटरप्याड, चुनाव चिह्न, हस्ताक्षर आदिको दुरुपयोग हुँदा पार्टी सञ्चालन गर्न समस्या भएको भन्दै दलको आधिकारिकता पाऊँ भन्दै आयोगमा निवेदन दिनुभएको थियो । अब दलको नाम, चिह्न, लेटरप्याड सबै उपेन्द्रको भएको छ । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै महन्थ ठाकुर समूह दलविहीन भएको छ । इजलासले सांसद्हरूको सन्दर्भमा भने केही पनि बोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू