अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

तत्काल पुनर्वासको व्यवस्था गर्न प्रधानमन्त्रीसँग बाढीपीडितले माग

बिआरटीनेपाल २०७८ साउन ११ गते २:३१ मा प्रकाशित

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।तीन स्थानीय तका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरूलाई राहत दिने विषयमा चासो नदिएपछि बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले बाढी पीडितहरूको पीडालाई सम्बोधन नगरेपछि पुनर्वाससहितको उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीलाई भेटेरैै ध्यानाकर्षण गराइएको मेलम्चीका बाढी पीडित सागरकुमार श्रेष्ठले बताउनुभयो । उहाँले अघिल्लो सरकारले पीडितलाई राहत दिने काममा कुनैै गम्भीरता नदेखाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

उनीहरुले घरवारबिहीन भएका, रोजगारी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरूलाई तत्काल आर्थिक राहतको प्रवन्ध गर्न माग गरेका छन् । त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताउनुभयो ।

उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद समेत दिएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न पनि माग गरेका छन् । गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँच पोखरीमा दर्जनौंको ज्यान गएको थियो भने कयौँ घरबारविहीन हुनुका साथै उनीहरुको हजारौं रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू